काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता समिकरणको सम्बन्धमा नेपाली कांग्रेस र नेकपा(एमाले)ले गरेको सहमती अपारदर्शी भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको भनिएको सत्ता समिकरणको सहमती अपारदर्शी भएको बताएका हुन् । उनले दुई दलका बीचमा भएको सहमती आधिकारिक रुपमा बाहिर नआएको भन्दै अपारदर्शी सम्झौता रहेको बताए । संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने परम्परा रहेपनि सहमतीमा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार बनाउने सुनिएको भन्दै यसरी स्थिरता दिन नसकिने जानकारी दिए ।
उनले नेकपा(एमाले)ले नैतिकता नदेखाएको पनि बताए । दुई दलका बिचमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमती हुनुले सरकार स्थिर हुन नसक्ने जानकारी दिए ।
सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल सुुरु भएको बताए । नेकपा (एमाले) प्रति लक्षित गर्दै गिरिबन्धु टि स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिए ।
‘प्रधानमन्त्री, गृहमन्त्रीसहित पारदर्शीता कायम गर्नका निमित्त भूटानी शरणार्थीसँग सम्बन्धित रहेको फाइल फेरि खोल्न अगाडी बढ्नुभयो । बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरु बिस्तारै सार्वजनिक हुँदै गए । बेचन झाका प्रमाणहरु आएपछि तपाईहरु बेचैन हुँदै डुंगा प्वाल परेको देख्नुभयो’, उनले भने ।
सांसद सापकोटाले प्रधानन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने र विश्वासको मत लिने बताए । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेमा संविधान अनुसार संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री चयनको प्रक्रिया अगाडी बढ्ने जानकारी दिए ।