काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीसहित ४ जनालाई पक्राउ गरेको छ ।
बचतकर्ताको रकम अपचलनको आरोपमा सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ, सीईओ भण्डारी, कोषाध्यक्ष अमृत कुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधानलाई प्रक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ परेका अध्यक्ष श्रेष्ठ ७६ वर्ष उमेरका हुन् । उनी ३१ वर्षसम्म नेपाल बैंकको मुख्य प्रबन्धक भएर भएर काम गरेका थिए ।
प्रहरीका अनुसार सर्वसाधारणहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाईन्छ भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ निक्षेप अपचलन गरेको आधारमा प्रक्राउ गरिएको हो ।

उनीहरूका विरूद्ध वि.सं २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भएको थियो । सोही मितिदेखि अनुसन्धान सुरु भएकोमा अध्यक्ष तथा अन्य सदस्यहरू फरार थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले असार १४ गते काठमाडाैंका विभिन्न स्थानहरूबाट चारै जनालाई पक्राउ गरेको हो । उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।