काठमाडाैं । भ्रष्टाचार मुद्दा लागेपछि स्वत: निलम्बनमा परेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।
अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलालाई दिइएको छ ।
मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बन भएको बताइन् ।
उनले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको जानकारी दिइन् ।
अर्याल आइतबार स्वत: मुख्यसचिव पदबाट निलम्बनमा परेका थिए । अख्तियारले अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरिएकाे छ ।