काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीले सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री सुडीले सरकारले मन्त्रिपरिषदबाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका हुन् । उनले विगतमा काठको मूल्य बढी भएको कारणले नेपालका काठहरु बिक्री हुन नसकेका बताए ।
उनले एक, दुई महिना भित्रमा नै सबै नियम, कानून मिलाएर नेपाली काठलाई मलेसियन काठभन्दा महङ्गो पर्न नदिने बताए । वन ऐन २०२९ लाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफू त्यसमा दृढ सङ्कल्पित रहेको बताए । वन ऐन संशोधन गर्नका लागि संसदमा छिटो पेश गरिने जानकारी दिए ।
‘यही एक, दुई महिनाको अन्तर्गत सबै नियम, कानुन बनाएर हाम्रो काठ मलेसियाको काठभन्दा महङ्गो पर्दैन । जुन कानुन राजाको समयमा, पञ्चायति व्यवस्थाको समयमा बनेको त्यो कानुनले अहिलेपनि वन मन्त्रालय सञ्चालन गर्नुहुन्छ । म तपाईहरुको विश्वास दिलाउन चाहन्छु कि सरकारले यसपालि ४ खर्ब रुपैयाँको काठ बेच्छ । र ४ खर्ब रुपैयाँ वन मन्त्रालयको आम्दानी हुन्छ’, उनले भने ।
मन्त्री सुडीले नेपालमा आवश्यक पर्ने काठहरु नेपालकै प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विदेश काठ उपयोग नगर्ने नीति लिनुपर्ने बताए । सामुदायिक वनलाई नियमन तथा अनुगमन गरेर अझ बलियो बनाउनुपर्ने बताए । एक व्यक्तिले कम्तिमा १० वटा रुख रोप्नुपर्नेमा जोड दिए ।