काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका छन् ।
आइतबार राष्ट्रिय सभा बैंकमा बोल्दै बस्नेतले केही दिनअघि प्रतिनिधि सभा बैठकमा सांसदले पुरुष सांसद संसदमा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसदकाे अनुशासनको कुरा गरेर आफैं अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने बताएका हुन् ।
उनले बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको बताए । भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्ने कुरा जायज नरहेको उनकाे भनाइ छ ।
उनले भने, ‘संघीय संसद्का कर्मचारी साथीहरूले केही माग राखेर आन्दोलन गर्नुभयो, ती जायज मागको विषयमा आज कानुनमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि बनेको छ, ती माग जायज पनि छन्, बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको छ, म अध्यक्ष महोदयमार्फत भन्न चाहन्छु, शिक्षक, प्रहरी, सेना, जति पनि कर्मचारी छन्, ती सम्पूर्णको तलब भत्ता बढोस्, नेपालमा बसेर खान गाह्रो भयो, त्यो थोरै तलबले कर्मचारी टिक्दैनन्, कोही पनि टिक्न सक्ने अवस्था छैन, भ्रष्टाचार बढेको बढ्यै छ, कालोबजारी बढेको बढ्यै छ, हामी कालोबजारी पनि र भ्रष्टाचार पनि रोक्न नसक्ने अनि त्यही तलबले कर्मचारी बाँच्नुपर्छ भन्ने कुरा हुँदैन ।’