कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

<p>काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको विभागकी [&hellip;]</p>

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ ।

खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् ।

यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले अनुरोधसमेत गरेको छ ।

देशभरिका कार्यालयहरूबाट अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ । विभिन्न जिल्लास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरूले तरकारी तथा फलफूलजन्य पदार्थहरूको चेकजाँचमा सक्रियता जनाएका महानिर्देशक डा. जोशी वैद्यले बताइन् । उनले भनिन्, ‘डिभिजन कार्यालय झापा, पोखरा, उदयपुर, हेटौँडा, सप्तरीलगायत ठाउँमा अहिले नियमित तालिका नै बनाएर अनुगमन भइरहेको छ ।’

खाद्य तथा पेयपदार्थ एवं होटेल रेष्टुरेन्टको अनुगमन तथा चेकजाँच वर्षभरि नै भइरहने भए पनि मौसमी फलफूलहरूको सिजनमा कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्रीवितरण निषेध गरिएको कार्वाइडको प्रयोग रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डा. जोशी वैद्यको भनाइ छ ।

Share News