४ हजार २१ वडाका मान्छे बैंकको सेवा लिन अर्काे वडा जान्छन्, ५.१ प्रतिशत वडामा १० भन्दा बढी सहकारी

<p>काठमाडौं । देशभर ७५३ वटा स्थानीय सरकार छन् भने ६ हजार ७४३ वडापालिका छन् । सरकारको लक्ष्य अनुरूप ७५३ वटै पालिकामा बैंक तथा वित्तीय संस्थाहरूको पहुँच पुगेको भएपनि ५९.६ प्रतिशत अर्थात् ४ हजार २१ वटा वडापालिकामा बैंकको पहुँच पुगेको छैन । यी वडा पालिकाका मान्छेहरूले बैंक तथा वित्तीय संस्थाको सेवा लिनका लागि कुनै अर्काे वडापालिकामा [&hellip;]</p>

काठमाडौं । देशभर ७५३ वटा स्थानीय सरकार छन् भने ६ हजार ७४३ वडापालिका छन् । सरकारको लक्ष्य अनुरूप ७५३ वटै पालिकामा बैंक तथा वित्तीय संस्थाहरूको पहुँच पुगेको भएपनि ५९.६ प्रतिशत अर्थात् ४ हजार २१ वटा वडापालिकामा बैंकको पहुँच पुगेको छैन । यी वडा पालिकाका मान्छेहरूले बैंक तथा वित्तीय संस्थाको सेवा लिनका लागि कुनै अर्काे वडापालिकामा जानु पर्ने बाध्यता देखिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कुल ६ हजार ७४३ वडापालिकामध्ये हालसम्म ४०.४ प्रतिशत अर्थात् २ हजार ७२२ वटा वडामा मात्रै बैंक तथा वित्तीय संस्थाको पहुँच पुगेको छ । राष्ट्रिय जनगणना २०६८ को सामुदायिक प्रश्नावलीका प्रमुख नतिजाहरूको प्रतिवेदन अनुसार १ देखि २ वटा बैंक तथा वित्तीय संस्था भएका वडा २५.५ प्रतिशत, ३ देखि ४ वटा हुने वडाहरू ६.६ प्रतिशत र ५ देखि ९ वटा भएका वडा ५.५ प्रतिशत छन् भने १० भन्दा बढी भएका वडा २.८ प्रतिशत रहेका छन् ।

प्रदेशअनुसार सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था बागमती प्रदेशमा ४९.२ प्रतिशत अर्थात् ५५१ वडामा बैंक छन् भने सबैभन्दा कम कर्णालीमा २१.३ प्रतिशत वडामा बैंक तथा वित्तीय संस्था रहेका छन् । बैंक तथा वित्तीय संस्था नभएको वडा हेर्दा कर्णाली प्रदेशमा ७८.७ प्रतिशत, सुदूरपश्चिममा ६७.४ प्रतिशत, मधेस प्रदेशमा ६१.१ प्रतिशत छन् भने गण्डकी प्रदेशको पनि करिब ५९ प्रतिशत वडामा बैंक तथा वित्तीय संस्थाको सुविधा नरहेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

साथै, देशभरका २ हजार ५३ वटा वडामा मात्रै मूलबजार सुबिधा रहेको तथ्याङ्क छ । प्रतिवेदन अनुसार १ देखि २ वटा मूलबजार भएका वडा २७.७ प्रतिशत, ३ देखि ४ वटा भएका वडाहरू २ प्रतिशत र ५ देखि ९वटा भएका वडा ०.५ छन् भने १० भन्दा बढी भएका वडा ०.३ प्रतिशत रहेका छन् ।

प्रदेशअनुसार सबैभन्दा बढी मूल बजार भएको प्रदेश बागमतीमा ३९.२ प्रतिशत रहेको छ भने कम रहेको कर्णाली प्रदेशमा २२.१ प्रतिशत वडामा मूलबजारको सुविधा रहेको छ । बागमती प्रदेशमा १ देखि २ वटा मूलबजार भएका वडा करिब ३२.२ प्रतिशत छन् भने १० भन्दा बढी भएका ११ वटा वडा रहेका छन् ।

यस्तै, देशभरका विभिन्न पालिकाका २ हजार ५८ वडामा मात्रै हाटबजार सबिधा रहेको छ । जसमध्ये कोशीका ५७९, मधेशका ७८१, बागमतीका १६१, गण्डकीका ९२, लुम्बिनीका २५९, कर्णालीमा ८० र सुदूरपश्चिम प्रदेशका १०६ वडामा हाटबजार सुबिधा रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।

तथ्याङ्क कार्यालयका अनुसार देशभर ४ हजार ९६८ वटा अर्थात् ७३.७ प्रतिशत वडापालिकामा सहकारी संस्था रहेका छन् । जसमध्ये १ देखि २ वटा सहकारी संस्था भएका वडा ३७.४ प्रतिशत, ३ देखि ४ वटा हुने वडाहरू १७.७ प्रतिशत र ५ देखि ९ वटा भएका वडा १३.५ प्रतिशत छन् भने १० भन्दा बढी भएका वडा ५.१ प्रतिशत रहेका छन् । देशभर १ हजार ७७५ अर्थात् २६.३ प्रतिशत वडापालिकामा कुनै पनि सहकारी संस्था नरहेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशअनुसार सबैभन्दा बढी सहकारी संस्था हुने प्रदेश पनि बागमतीमा ८४.७ प्रतिशत अर्थात् ९४९ वडामा छन् भने कर्णालीमा ५७.४ प्रतिशत वडामा सहकारी संस्था छन् । यस्तै, कोशीमा ९३३, मधेस प्रदेशमा ८८१, गण्डकीमा ५८९, लुम्बिनी ७४३ र सुदूरपश्चिम प्रदेशमा १६५ वडापालिकामा मात्रै सहकारी संस्था छन् ।

Share News