काठमाडौं । मुलुकभर साढे १७ हजार बढी टोल बस्ती तथा गाउँ रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०६८ को सामुदायिक प्रश्नावलीका प्रमुख नतिजाहरूको प्रतिवेदन सार्वजनकि गर्दै नेपालमा १७ हजार ५९३ टोल बस्ती तथा गाउँ रहेको बताएको छ ।
प्रतिवेदन अनुसार सबैभन्दा बढी १० देखि २० वटा गाउँबस्ती रहेका वडाहरू २ हजार १९८ रहेका छन् । प्रतिशतका आधारमा कुल संख्याको ३२.६ प्रतिशत हो । देशभरि २० वटाभन्दा बढी गाउँबस्ती हुने वडाहरू १ हजार ६९१ रहेको र १ हजार ४७३ वडाहरूमा एकदेखि पाँचओटा वडाहरू मात्र रहेका प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशगत रूपमा सबैभन्दा कम गाउँबस्तीहरू र सबैभन्दा बढी गाउँबस्ती भएको प्रदेश बागमती रहेको तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ । बागमति प्रदेशमा एकदेखि पाँचओटा गाउँबस्ती हुने वडाहरू ४९ ओटा (४.४ प्रतिशत) र २० भन्दा बढी (४६ प्रतिशत) गाउँबस्ती हुने वडाहरू ५१६ वटा छन् ।
समग्रमा सबैभन्दा बढी वडाहरू (१ हजार २७१) मधेस प्रदेशमा भएतापनि गाउँबस्तीको सङ्ख्याको आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी ३६४९ गाउँबस्ती रहेको कार्यालयको भनाइ छ ।