काठमाडौं । मकवानपुरको मनहरीका सागर परियार अहिले स्नातकमा अध्ययन गरिरहेका छन् । एसईईपछि काठमाडौं आएर पढिरहेका उनी अहिले एससीटीआई कलेजमा अध्ययनरत छन् । उनले करिब २ वर्ष अघि सामाजिक सञ्जालमा एउटा सूचना देखे ।
सूचना थियो उपत्यकामा बाहिर जिल्लाबाट अध्ययन गर्न आएका भाडामा बसेका दलित, जनजाती र दुर्गम क्षेत्रका विद्यार्थीलाई विद्युतिय चुलो वितरण गरिने । उनलाई रुचि लाग्यो । आफु पनि दलित त्यसमाथि काठमाडौं उपत्यका बाहिरको हुँदा सूचनाबारे चाँसो दिए । उनले वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्र जैविक शाखामा फोन गरे ।
त्यहाँबाट जिज्ञासाको जवाफ पाएपछि सूचनामा भनिए अनुसार अनलाइनबाट आवेदन दिए । उनले आवेदन दिएको करिव १ वर्षपछि विद्युतिय चुलो प्राप्त गरे । अहिले उनी विद्युतिय चुलोको प्रयोग गरिरहेका छन् । यो भन्दा पहिले ग्यासको प्रयोग गर्दै आएका उनी अहिले विद्युतिय चुलो प्रयोग गरिरहेका छन् ।
विकासन्युजसँग कुरा गर्दे सागरले भने, ‘अनलाइनबाट आवेदन भरेको थिएँ । तर, कुनै जानकारी नआएपछि देखावटीमात्र रहेछ भन्ने ठानेको थिएँ, एक वर्षपछि उतैबाट फोन आयो, अहिले चुलो ल्याएर पनि प्रयोग गरिरहेको छु । ’
सागर ग्यास भन्दा चुलो सहज हुने प्रतिक्रिया दिन्छन् । साँझ बिहान विद्युतिय चुलोमा खाना पकाउँदा बिल बढी उठ्दैन भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘घरको जस्तो छिनछिनमा धेरै खाने कुरा हामीलाई पकाउन पर्दैन, कहिले कलेजमै खाइन्छ कहिले कोठामा पकाइन्छ धेरै बिल आउँदैन ।’
सागर खाना पकाउँदा पनि ग्यासभन्दा सजिलो हुने बताउँछन् । ग्यासको जस्तो हेरेर बस्न पर्दैन,’ उनी थप्छन्,‘ यो चुलोमा कति समयमा खाना पाक्छ भन्ने आफुलाई थाहा हनुप¥यो त्यही अनुसार टाईम सेट गरिदियो भने आफैं खाना पाकेपछि अफ हुन्छ, यसो हुँदा ग्यासको जस्तो खाना बसाएर आफु अर्को काम पनि गर्न मिल्छ ।’
उनी विद्यार्थी त्यसैमाथि अरुको घरमा भाडामा बस्नेहरूका लागि धेरै सहज हुने बताउँछन् ।
काभ्रेकी मनिसा बिक दृष्टिविहीन हुन् । उनी अहिले आरआर कलेजमा स्नातकमा अध्ययन गरिरहेकी छन् । उनले पनि आवदेन दिएर वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रबाट विद्युतिय चुलो पाएकी छन् । एक वर्षदेखि विद्युतिय चुलो प्रयोग गरिरहेकी उनले ग्यासभन्दा चुलोमा खान पकाउन सहज हुने बताउँछिन् ।
वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रले विद्युतिय चुलोको प्रवर्द्दन गर्न यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । नेपालमा विद्युतको उत्पादन बढी हुँदा खपत कम हुने समस्या र अर्को एलपीजी ग्यासको प्रयोग बढ्दा राष्ट्रिय व्यापारमै असर परिरहेकाले यस्तो अवधारणा ल्याइएको वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रका उपनिर्देशक रण बहादुर थापाले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रले यो भन्दा पहिले पटक-पटक सूचना निकालेर उपत्यका बाहिर घरभइ उपत्यकामा बसेर अध्ययन गर्ने विद्यार्थीलाई चुलो वितरण गरिरहेको बताएकाे छ । केन्द्रले अहिले फेरि चुलो वितरण गर्ने योजना रहेको बनाएको छ ।
एक तथ्यांक अनुसार नेपालमा ४४ प्रतिशतको घरमा एलपीजी ग्यास पुगेको छ । विद्यार्थीले मात्र विद्युतिय चुलो प्रयोग गर्ने हो भने उनीहरूका परिवार साथिभाइको पनि आकर्षण बढ्छ र प्रयोगकर्ताको संख्या पनि बढ्छ भन्ने उद्देश्यले नै कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विद्युती चुलो उपत्यकामा विद्यार्थी र तराइका २२ जिल्लाका दलित, गरिब, विपन्न वर्गाका समूदायलाई वितरण गरिँदै आएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकामा अध्ययन गर्दै आएका दुर्गम, अतिदुर्गमका ७ हजार ५ सय ६४ विद्यार्थीलाई विद्युतिय चुलो वितरण गरिएको छ ।
पहिलो वर्ष २०७८ साल पुस ९ गते सूचना जारी गर्दा ७ हजार ३ सय ८५ विद्यार्थीको आवेदन परेको थियो । तर, यसमा अनुदान नीतिले क, ख र ग अर्थात दुर्गम, अति दुर्गम र सुगम वर्गका विद्यार्थीलाई भनिएको थियो । सुगमका विद्यार्थीको पनि भन्दा धेरै आवेदन परेकाले दुर्गम र अति दुर्गम विद्यार्थीलाई प्राथकिमतामा राखेर वितरण गरिएको जनाइएको छ । यसरी छनोट गर्दा २ हजार ८ सय ६५ विद्यार्थी छनोट भएका थिए ।
उनीहरूलाई विद्युतिय चुलो वितरण गरिएको थियो । यस्तै, दोस्रो सूचना २०७९ साल पुस १७ गते सार्वजनिक गरियो । त्यो बेला २ हजार ३ सय ७८ जनालाई छनोट गरेर वितरण गरियो । त्यसपछि दलितलाई लक्षित गरेर २०७९ साल जेठ २५ गते फेरि सूचना निकालियो त्यसमा काठमाडौंमा बस्ने बाहिरका विद्यार्थी सबैलाई दिनुपर्छ भन्ने कुरा भयो र दोस्रो चरण अन्तर्गत वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रबाट २०७९ जेठ २५ गते निकालिएको सूचनामा ७ हजार ३ सय २० जना विद्यार्थीले आवेदन दिए ।
तिनिहरू मध्ये १ हजार ९ सय ९५ विद्यार्थीलाई छनोटमा परे उनीहरू मध्ये २ हजार ३ सय २१ जनाले चुलो लिए भने बाँकी विद्यार्थी चुलो समेत लिन आएनन् । यसरी पटक पटक विद्यार्थीका लागि वितरण गरिदै आएको विद्युतिय चुलो अझै मौज्दात रहेकाले फेरि सूचना निकालेको केन्द्रले जनाएको छ । २०८१ साल जेठ २२ गते सूचना प्रकाशित गरेकाले विद्यार्थीलाई आवेदन पनि केन्द्रले आग्रह गरेको छ ।
कस्तो छ प्रक्रिया ?
वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रका अनुसार विद्युतिय चुलो पाउने योग्य व्यक्ति काठमाडौं उपत्यका बाहिर घरभइ उपत्यका भित्र भाडा तिरेर बसेका र स्नातक र स्नातोकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरू हुन् ।
यसमा पनि दलित, आदिवासी जनजाती, पिछडिएको क्षेत्रका विद्यार्थीलाई प्राथमितमा राखिन्छ । यसको लागि वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रको कार्यालय मध्यबानेश्वर वा अनलाईनबाट पनि फर्म भर्न सकिन्छ ।
फर्म भर्दा नेपाली पहिचान खुल्ने प्रमाणपत्र, शिक्षण संस्थाको सिफारिस विद्यार्थीको परिचयपत्र र पेश गर्नुपर्ने प्रावधान छ । उपत्यका बाहिरका विद्यार्थीले फर्म भरेपनि प्राथमिकता भने अति दुर्गम र दुर्गमका विद्यार्थी दिइने केन्द्रले जनाएको छ ।
कतिपयको गुनासो ग्यासभन्दा महँगो
कतिपय विद्यार्थीले ग्यासभन्दा सहज भएको भनिरहँदा कतिपय विद्यार्थी भने ग्यास भन्दा महँगो भएको बताउँछन् । बझाङका केदार भण्डारी विद्युतिय चुलो सहज भएपनि बिजुलीको बिल बढी आउने गरेको गुनासो गर्छन् । ग्यास एक पटक भर्दा करिब २ हजार रूपैयाँपर्छ, साे ग्यास तीन/चार महिना टिक्छ, विद्युतिय चुलाेले धेरै बिजुलीको बिल धेरै आउने रहेछ,’ उनले भने ।
उसो त काठमाडौंमा घरधनीहरुले मनोमानी रुपमा बिलुजीको बिल लिने गरेको गुनासो पनि आइरहेको छ । उनीहरू बिजुलीको युनिट बराबर फरक-फरक मूल्य लिन्छन् । वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रका उपनिर्देशक थापा भने ग्यास भन्दा इन्डक्सन चुलो ४० प्रतिशत सस्तो हुने दाबी गर्छन् ।
अहिले बजारमा थरिथरिका विद्युतिय चुलोहरू पाइन्छन् । थरिथरिका चुलो जस्तै मूल्य पनि फरक-फरक छ । ३५ सय देखि ७ हजार मूल्यमा विद्युतिय चुलो पाइन्छ । केन्द्रले विद्यार्थीलाई वितरण गरेको चुलोको बजार मूल्य भने ५ हजार रहेको थापाले बताए । विद्युतिय चुलो १८ सय वाटदेखि २२ सय वाटसम्मको पाइन्छ । यसमा प्रयोग गरिने अथवा यो चुलोमा पकाउने भाँडाकुँडा पनि फरक हुन्छन् ।