
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो ।
‘पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ,’ राष्ट्र बैंकद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।
पेवेल २०७६ असोजमा सञ्चालनमा आएको भुक्तानी सेवा प्रदायक कम्पनी हो । यसको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले आफ्ना ग्राहक ४ लाखभन्दा बढी रहेको र एजेन्टहरु ५ हजार भन्दा बढी रहेको दावी गर्दै आएको थियो ।
सजिलो पे पेमेन्ट सर्भिसेजले २०७७ चैतमा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको थियो । यसको चुक्ता पुँजी १ करोड रुपैयाँ मात्र छ ।
अधिकांश भुक्तानी सेवा प्रदायक (पीएसपी) कम्पनीहरुले आर्थिक संकट सामना गरिहेको बेलामा दुई कम्पनीहरुमाथि राष्ट्र बैंकले गरेको कारवाहीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर २६ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरु सञ्चालनमा छन् । त्यसमध्ये अधिकांश कम्पनी नोक्सानीमा रहेका छन् । आइएमई पे, इसेवा, खल्ती सहित ५ वटा कम्पनीको कारोबार मात्र टिकाउ अवस्थामा रहेको र बाँकी कम्पनीहरु घाटामा चलिरहेको राष्ट्र बैंक स्रोतले बतायो ।
भुक्तानी सेवा प्रदायक कम्पनीहरुमा कम्तिमा १ करोड देखि ३० करोडसम्म लगानी रहेको छ । सबैभन्दा बढी नमस्ते पे (नेपाल टेलिकम प्रवद्र्धक रहेको कम्पनी)मा ४० करोड रुपैयाँ लगानी भएको छ । आईएमई डिजिटल सोलुसनमा ३० करोड लगानी रहेको छ । इसेवामा १० करोड चुक्ता पुँजी छ ।