
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेटमा ५ खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिइएको भन्दै आपत्ति जनाएका छन् ।
उनले अर्थमन्त्री वर्षमान पुनले पूर्वअर्थमन्त्रीसँग मिलेर ५ खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता गरेर आर्थिक अराजकता र अनुशासनहीनता देखाएको आरोप पनि लगाए ।
सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पन्तले कुन–कुन अर्थमन्त्रीको पालामा यसरी बजेटमा स्रोत सुनिश्चितता गर्ने काम गरियाे ? भनेर स्पष्ट पार्न पनि सरकारसँग माग गरे ।
विकास आयोजनामा बजेट नभएका बेलामा सरकारले त्यसरी स्रोत सुनिश्चितताको पत्र केही मन्त्रालयलाई दिने काम गर्नु आर्थिक अनुशासनको उल्लंघन भएकाे उनकाे जिकिर छ ।
सांसद पन्तले केही मन्त्रालयलाई सरकारले स्रोत सुनिश्चतताको पत्र दिएपछि विकास आयोजनाको काम अघि बढन नसकेको अवस्था आउने भएकाले त्यस्ता कुरालाई सरकारले नियन्त्रण गरेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘५ खर्ब ८५ अर्ब अर्थात ६ खर्ब रुपैयाँभन्दा बढी रकमको बजेट सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिइसकेको छ, ५ खर्बभन्दा बढीको स्रोत सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई दिइसकेको छ, अब त्यो ५ खर्बकाे स्रोत सुनिश्चितता कसरी गर्ने ? उनले प्रश्न गरे, ‘अनि यसपटक बजेटमा छुट्टयाइएको विकास योजनालाई बजेट कहाँबाट जुटाउने ? यो त उहाँको मात्र होइन, ५/५ खर्बको स्रोत सुनिश्चितता त्यतिकै दिएको होइन होला, यसले अर्थ मन्त्रालयमा देखिएको आर्थिक अराजकता र अनुशासनहीनतालाई देखाउँछ ।’
सांसद पन्तले बजेट यथार्थपरक भए पनि कतिपय आयोजनाहरूमा आवश्यक बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।