गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

<p>चौतारा । काठमाडौंबाट र्&#x200d;याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन्  । विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार र्&#x200d;याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुगिन् । &#8216;हामीले सुनेका मात्रै थियौँ, र्&#x200d;याफ्टिङको मज्जा आफैँले लिन पायौँ&#8217;, उत्साहित हुँदै ज्योतिले भनिन्, &#8216;शनिबार चाप धेरै हुन्छ [&hellip;]</p>

चौतारा । काठमाडौंबाट र्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन्  ।

विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार र्‍याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुगिन् । ‘हामीले सुनेका मात्रै थियौँ, र्‍याफ्टिङको मज्जा आफैँले लिन पायौँ’, उत्साहित हुँदै ज्योतिले भनिन्, ‘शनिबार चाप धेरै हुन्छ भन्ने सुनेर नपाइएला भन्ने निकै डर थियो ।’ उनले कलेज छुट्टीको दिन मिलाएर अन्य साथीसँग फेरि आउने सोच अहिले नै बनाइसकेको बताइन् ।

‘यति रमाइलो हुन्छ भन्ने आफैँले र्‍याफ्टिङ गरेपछि थाहा भयो, साथीहरु सबैलाई अनुभवबारे ‘शेयर’ गर्छौं अनि यहाँ आउनलाई प्रेरित गर्छौं’, र्‍याफ्टिङपछि ज्योतिसँगै उभिएका उनका साथी शैलेश श्रेष्ठले भने । जीवनकै लागि नौलो र खतरापूर्ण खेल भएकाले यो समूह केही डराएको भने थियो । ठाडो खोलामा बगिरहेको पानीसँग खासै परिचित नभएकाले सुरुमै मुटुको गति बढेको अनुभव भएको श्रेष्ठ बताउँछन् ।

‘जब र्‍याफ्टिङ खोलाको पानीसँगै बग्न थाल्यो, मनमा डरको गति पनि झनै बढ्यो’, उनले आफ्नो अनुभव सुनाए, ‘कहिलेकाहीँ आँखा चिम्लनुसमेत परेपछि भने बेक्कार गरिएछ भन्ने पनि लाग्यो ।’ उनले साथीहरु पानीमा रमाउँदै कराउँदै गर्न थालेपछि भने बल्ल रमाइलो अनुभव भएको सुनाए  । ‘पछि डर भुलियो, अर्कै संसारमा डुबुल्की मारिरहेको जस्तै लाग्यो’, उनले भने ।

उनीहरु जस्तै भक्तपुरबाट आएकी रोजिना श्रेष्ठले ‘कोर्पेटिभ’ टिम लिएर र्‍याफ्टिङको आनन्द लिन आएको सुनाइन् ।  ‘विदेशीसहित हाम्रो ५० जनाको टोली छ’, उनले भनिन्, ‘अब गर्मी सुरु भयो, यसकै लागि बिदाको समय मिलाएर समूह बनेर आयौँ ।’

शुक्रबार र शनिबार यहाँका रिसोर्ट भरिने गरेकाले पहिल्यै बुक गरेर आएको उनी सुनाउँछिन्  । रोजिनाले यसअघि पनि र्‍याफ्टिङ गरिसकेकिन्  । त्यति बेलाको मज्जा सम्झँदै उनी फेरि सुनकोसी आइपुगिन्  । ‘पहिला धित नै मरेन, त्यसैले फेरि आएँ’, उनी भन्छिन् ।

सुकुटेमा गर्मी बढेसँगै साहसिक खेल र्‍याफ्टिङमा रमाउने आन्तरिक तथा बाह्य पर्यटक अहिले ह्वात्तै बढेका छन् । गएको फागुनदेखि पर्यटकको चाप बढेको रिसोर्ट सञ्चालकहरु बताउँछन् । पछिल्लो हप्तादेखि अत्यधिक गर्मी बढेका कारण र्‍याफ्टिङ गर्ने पर्यटकमा वृद्धि भएको हो ।

साहसिक खेल र्‍याफ्टिङ र क्यानोनिङ गर्ने पर्यटकको सङ्ख्या दैनिक बढिरहेकाले यहाँका सबै रिसोर्ट व्यस्त भएको सुकुटेबिच एड्भेन्जर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा बताउँछन् । ‘दैनिक एक सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्’, थापा भन्छन्, “यो समय र्‍याफ्टिङको याम भएकाले अब चाप झनै बढ्ने अनुमान छ ।’

र्‍याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा कम्तीमा दुई हजार पर्यटक भित्रिने गरेका छन् । राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मूलुकबाट आउने पर्यटकको लक्ष्य भोटेकोसी र सुनकोसीमा र्‍याफ्टिङ गर्ने हुने गरेको  छ ।

पर्यटक बढेसँगै सिन्धुपाल्चोक र काभ्रेको सीमा गाउँ बन्देउदेखि रिसोर्टको सङ्ख्यामा समेत वृद्धि भएको छ । सुनकोसी र भोटेकोसी किनारामा र्‍याफ्टिङ सञ्चालन गर्ने रिसोर्ट बढेका छन् । रासस

Share News