काठमाडौं । काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आफ्ना कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन सुरु गरेको गरेको छ ।
धनुषामा बुधबारदेखि राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानले प्राविधिक र वैज्ञानिक कर्मचारीहरूका लागि आयोजना गरेको डिजिटाइजेशन अफ रिसर्च डेटा विषयक तालिम राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम सुरू भएको छ ।
तीन दिनसम्म चल्ने सो तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि नार्कका पूर्व कार्यकारी निर्देशक एवम् मधेश कृषि विश्वविद्यालय, राजविराजका वर्तमान उपकूलपाति डा. वैद्यनाथ महतोले यो तालिमले कर्मचारीलाई अनुसन्धानका तथ्याङ्कहरू सकंलन गर्न अत्याधुनिक प्रविधिसँग अभ्यस्त हुन र अनुसन्धानलाई परिस्कृतरूपमा सन्चालन गर्न सहयोग पुग्ने बताए ।
उनले मधेश कृषि विश्वविद्यालय र नार्कबीच विद्यार्थी र कर्मचारीको क्षमता अभिवृद्धि गर्न यस्ता तालिम लगायत अन्य थुप्रै विषयमा सहयोग र समन्वय गर्न सकिने कुरामा जोड दिए । उनले नार्क जस्तो महान् उद्देश्य बोकेको सँस्थामा काम गर्ने कर्मचारीलाई समय अनुसार प्रविधिले युक्त बनाउँदै लैजानु आजको आवश्कता रहेको र यो तालिमले त्यसको केही मात्रामा भए पनि पूरा गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक बिनेशमान साखले आगामी दिनमा पनि प्रतिष्ठानले यस्ता तालिमहरू सन्चालन गर्दैजाने र कर्मचारीको क्षमता बढाउने काम जारी रहने बताए ।
प्रतिष्ठानका प्रशासकीय अधिकृत अञ्जली बज्राचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले सहभागी र प्रशिक्षकलाई स्वागत गर्दै प्रतिष्ठानले नार्कभित्रका कर्मचारीलाई समयानुकूल तालिम सञ्चालन गर्नु प्रशंसनीय रहेको बताए।
कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक मथुरा यादव, कृषि अनुसन्धान केन्द्र, बेलाचापीका प्रमुख रामदास चौधरी, प्रशिक्षक डा. उज्ज्वलकुमार कुशवाह लगायतको उपस्थिति थियो । तालिममा नार्कका विभिन्न कार्यालयमा कार्यरत प्राविधिक, प्राविधिक अधिकृत र वैज्ञानिक गरी १६ जनाको सहभागिता छ ।
यस्तै तालिम केही दिन अघि मत्स्य अनुसन्धान केन्द्र, बेगनासमा पनि सञ्चालन भइसकेको छ । यी दुबै तालिमबाट नार्कका कुल ३२ जना कर्मचारीको क्षमता अभिवृद्धि रहने आयोजकले बताएका छन् ।