बारा र पर्साका २१२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

<p>वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ‘टिओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरिएको हो । केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाइ’ लिएका ‘एचटी मिटरिङ युनिट’ जडित (ट्रान्सफर्मर) जडित क्षमता [&hellip;]</p>

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ‘टिओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरिएको हो ।

केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाइ’ लिएका ‘एचटी मिटरिङ युनिट’ जडित (ट्रान्सफर्मर) जडित क्षमता २ सय केभीदेखि २५ हजार किलो भोल्ट एम्पेरेस क्षमताको विद्युत उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरिएको हो ।

केन्द्रका अनुसार उद्योगका ग्राहकको टिओडी मिटरलाई ‘शून्य दशलमलव दुई एस एकुरेसी क्लास’को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर निःशुल्क जडान गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका दुई सय १२ उद्योगमा निःशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताए ।

‘स्मार्ट इनर्जी मिटर जडान गरेका उद्योगमा मिटर रिडिङका लागि जानु पर्दैन,’ उनले भने, ‘विगतमा जस्तै टिओडी मिटर डाउनलोड गरिरहनुपर्ने झन्झट पनि हुँदैन । प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको सर्भरमा स्मार्ट इनर्जी मिटर जडान भएको उद्योगले खपत गरेको विद्युत्को अभिलेख रहन्छ । हामीले पनि अनलाइन सिस्टमबाटै रेकर्ड हेरेर बिलिङ गर्न सक्नेछौँ ।’

प्राधिकरणले एउटा उद्योगमा ७२ हजार रकम पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ । कार्यालयका अनुसार ती उद्योगमा सो मिटर जडान गर्न १ करोड ५२ लाख ६४ हजार रकम लागेको जनाएको छ । उद्योगीले महिनाको अन्त्य भएको दिनको मध्यरातमा नै बिल प्राप्त गर्न सक्नेछ ।

‘कुन उद्योगमा कति विद्युत् खपत भइरहेको छ । कुनमा खपत भइरहेको छैनलगायत विवरण पनि यो मिटरबाट थाहा हु्न्छ,’ कार्यालय प्रमुख दुवेले भने, ‘यसले विद्युतको माग र आपूर्तिबीच पनि तालमेल गराउन निकै ठूलो सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ ।’

कार्यालय प्रमुख दुवेले मिटर जडान गरेसँगै मिटर रिडिङ गर्ने दुईजना जनशक्तिको भार पनि कम भएको बताए ।

Share News