काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेकाे प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीसँग उक्त सम्पत्ति देखिएको हो । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।
यस्तै, उनको भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेडमा २५ लाख नगद मौज्दात रहेको उल्लेख छ ।