नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको ४९औं महाधिवेशन सम्पन्न

<p>काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको ४९औं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले एक विशेष कार्यक्रमकाबीच बिहीबार शुभारम्भ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाल रेडक्रस सोसाइटीको कानुनी आधार थप मजबुत बनाउन नेपाल सरकार र सरोकारवाला निकायहरूमा नमूना मस्यौदा सम्बन्धमा घनिभूत पैरवी गरी [&hellip;]</p>

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको ४९औं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले एक विशेष कार्यक्रमकाबीच बिहीबार शुभारम्भ गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाल रेडक्रस सोसाइटीको कानुनी आधार थप मजबुत बनाउन नेपाल सरकार र सरोकारवाला निकायहरूमा नमूना मस्यौदा सम्बन्धमा घनिभूत पैरवी गरी नेपाल रेडक्रस ऐन जारी गराउन यथासम्भव कार्य गरिएको बताए । नेपालको संविधान र संघीय संरचनाअनुसार संस्थाको संगठनात्मक स्वरूप, संस्थागत मौलिकता र समावेशी सिद्धान्त सुनिश्चित हुने गरी नेपाल रेडक्रस सोसाइटीको वर्तमान विधानलाई समसामयिक संशोधनको तयारी कार्य पुरा गरिएको अध्यक्ष नेपालले बताए ।

संस्थाको मानवीय सेवालाई गुणस्तरीय, सर्वसुलभ, मितव्ययी र स्थानीयकरण गर्दै लगिएको र संस्थागत सवलीकरणका लागि सबै तहमा सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्दै जाने मार्गचित्र तय भएको अध्यक्ष नेपालले बताए ।

महाधिवेशनका अवसरमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाले श्रेष्ठले २०८०/८१ को वार्षिक प्रतिवेदन र २०८१/०८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीका ८ हजार ७ सय ५३ निकायहरूअन्तर्गत ९ लाखभन्दा बढी सदस्य संख्या रहेको जानकारी गराए ।

स्वास्थ्य प्रवद्र्धन एवम् सुधार, रोगको रोकथाम तथा पीडा न्यूनीकरण, सरसफाइ, खानेपानी तथा स्वच्छता प्रवद्र्धन, पोषण, खोप सेवा, रक्तसञ्चार, प्राथमिक उपचार, एम्बुलेन्स, आँखा उपचार, प्रजनन स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरू, महामारी, सर्पदंश उपचारलगायतका गतिविधिहरूमार्फत गत वर्ष मात्रै २५ लाखभन्दा बढी जनस्ांख्या लाभान्वित भएको महामन्त्री श्रेष्ठले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष वीरवहादुर बस्नेतले आ.व.२०८०/०८१ को वार्षिक आर्थिक प्रतिवेदन र आ.व.२०७९/०८०को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको आयव्यय विवरण प्रस्तुत गरेका थिए । सोसाइटीका महामन्त्री र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरू सभाले सुझावसहित पारित गरेको छ ।

कार्यक्रममा सोसाइटीका उपाध्यक्ष राधा नेपालीले महाधिवेशनका प्रतिनिधिहरूलाई स्वागत गर्नुभएको थियो भने अर्का उपाध्यक्ष सुरेन्द्र सिं ऐरले धन्यवाद व्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीका पूर्व उपाध्यक्ष एवं हालका सल्लाहकार सरला कायस्थले रेडक्रसकर्मीहरूले मन, वचनले सेवा पुर्याउनु पर्नेमा जोड दिए । यस्तै युवा प्रतिनिधि युवसा जि.सी.ले रेडक्रस सिद्धान्तलाई अनुशरण गरी सेवालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

महाधिवेशन उद्घाटन कार्यक्रमको सञ्चालन र सहजीकरण सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले गरेका थिए । महाधिवेशनमा सातै प्रदेश, ७२ जिल्ला, केन्द्रीय पदाधिकारी एवं सदस्य, डेनिस रेडक्रस र साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक, निर्देशक र कर्मचारुहरू गरी ३०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

Share News