एक वर्षको अवधिमा विपद्‍बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति

<p>काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारण करिव १ अरब २३ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारण करिव १ अरब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका हुन् । उनले यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्बाट ६३ जना र आगलागीबाट २६ जना नेपाली नागरिकको मृत्यु भएको पनि बताए ।

एक वर्षमा सडक दुर्घटनाबाट १ हजार ५४७ जनाको मृत्यु भएका र ४ हजार १४७ जना गम्भीर घाइते भएका उनले उल्लेख गरे । सचिव अर्यालले विपद्बाट विगत दश वर्षमा ४१ अरब ६० करोड रुपैयाँको क्षति भएको पनि बताए । त्यस्तै दश वर्षको अवधिमा २२ हजार ८२२ जनाको सडक दुर्घटनामा मृत्यु भएको र ४८ हजार ६१६ जना घाइते भएको पनि उनले बताए । डढेलो प्रभावितहरुलाई प्रमुख जिल्ला अधिकारीमार्फत १५ देखि २० हजार रुपैयाँ उपलब्ध गराइराखिएको र अस्थायी आवास बनाउनका लागि कार्यविधिलाई संशोधन गरेर ५० हजार रुपैयाँ दिइने पनि उनले बताए ।

उनले भने – ‘प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारणले गर्दाखेरी कुल गार्हस्थ्य उत्पादनमा पनि ह्रास भएको छ । २०७० सालदेखि २०७९ सम्म करिव १० वर्षको आँकलन हेर्ने हो भने ४१ अर्ब ६० करोड क्षति भएको भन्ने अनुमान छ । अहिले २०८० वैशाखदेखि २०८१ वैशाख २० गतेसम्मको तथ्यांकमा बाढी, पहिरो, भुकम्प लगायतका प्राकृतिक जोखिमबाट ६३ जना र आगलागीबाट २६ जना नेपाली नागरिकले विभिन्न स्थानमा मृत्युवरण गरिराखेको अवस्था छ ।’

सचिव अर्यालले विपद् व्यवस्थापन सम्बन्धि ऐन, कानूनहरुलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्रालय त्यसमा लागि परिरहेको जानकारी दिए ।

Share News