काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा समेत ‘बजेट छैन भन्ने प्रवृत्ति’ अन्त्य गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले बजेट छैन भन्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताएका हुन् ।
विपद् व्यवस्थापनबारे संघीय सरकारले गरिरहेका कामबारे जानकारी दिँदै मन्त्री लामिछानेले विपद्को पूर्वतयारी र व्यवस्थापनमा बजेट अभावलाई कारण बनाउन नहुने बताए ।
‘नागरिकको सुरक्षा र ज्यान जोगाउने विषय सरकारको अनिवार्य दायित्व हो । र, यो दायित्व पूरा गर्न स्रोत–साधनको अभाव हुनु हुँदैन,’ मन्त्री लामिछानेले भने, ‘स्रोत साधनको जोहो गर्न समितिले पनि सरकारलाई निर्देश गरोस् । हामीले निरन्तर बजेट छैन भनेर सुन्दै आएका छौं । तर, कति छैन र कसरी जुटाउन सकिन्छ भन्नेबारे पर्याप्त छलफल हुँदैन ।’
समितिका छलफल त्यसतर्फ पनि केन्द्रित हुने अपेक्षा गर्दै मन्त्री लामिछानेले गृह मन्त्रालय त्यसबारे खुलेर छलफल गर्न, आवश्यक स्रोतको जोहो गर्न र भएका कमीकमजोरी सच्याउन तयार गरेको बताए ।
क्षति न्यूनीकरणको पूर्व तयारी भन्दा विपद्पछिको व्यवस्थापनमा मात्रै केन्द्रित हुने प्रवृत्तिका कारण पनि स्रोतमा भार परिरहेको उनको भनाइ छ । पूर्वतयारीमा सचेत र सजग हुन सके क्षति स्वतः घट्ने भएपनि पूर्वतयारीमै चुक्दा विपद् व्यवस्थापनमा सधैं बजेटको सन्दर्भ आउने गरेको उनले बताए ।