प्रभावकारी नियमन र सुपरिवेक्षणका कारण वित्तीय क्षेत्र सन्तोषजनक छ : गभर्नर अधिकारी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रभावकारी नियमन र सुपरिवेक्षणका कारण नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोलीसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । नेपालमा वैदेशिक लगानीको निम्ति वातावरण सहज रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले लगानी स्वीकृति प्रक्रिया र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रभावकारी नियमन र सुपरिवेक्षणका कारण नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोलीसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

नेपालमा वैदेशिक लगानीको निम्ति वातावरण सहज रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराए । नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै उनले एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइनलगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिए । साथै, नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रलगायत मुलुकको वर्तमान आर्थिक स्थितिबारे चर्चा गरे ।

एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्नसक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदरलगायतका विषयमा चासो राखेका थिए । नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नका निम्ति भएका नीतिगत प्रयासबारे पनि जिज्ञासा राखे ।

कार्यक्रममा नेपालको विकासका प्राथमिकता, पूर्वाधार विकासमा लगानीका अवसरलगायतका विभिन्न विषयमा दुईपक्षीय छलफल भएको थियो । भेटवार्तामा नेपाल राष्ट्र बैंकको  तर्फबाट डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गि मास्के, डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ, गुरुप्रसाद पौडेलल र एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायकेको नेतृत्वको टोली रहेको थियो ।

मूलतः एसियाली र अन्य सदस्य मुलुकको दिगो र हरित पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१६ मा एआईआईबीको स्थापना भएको हो । यसको मुख्यालय चीनको बेइजिङमा रहेको छ

Share News