
काठमाडौं । होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । होली पर्वलाई ध्यानमा राखी जिल्ला प्रहरी परिसर काठमाडौंले तीन हजार सुरक्षाकर्मी खटाएको हो।
होली पर्वका दिन काठमाडौंमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
यस वर्षको होली पर्वका लागि दुई हजार पाँच सय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको संख्यामा प्रहरी खटिएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मापसे र लापसे सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको भन्दै अनुमतिबिना रङ दल्ने, लोला हान्ने, जिस्काउनेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।