काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उद्योगी तथा सांसद विनोद चौधरीको बयान सुरु गरेको छ ।स्रोतका अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा बयानका लागि बोलाइएको हो ।
सीआईबीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अधिकारीको रहोबरमा बयान लिइरहेको हो । अहिले पनि बयान जारी छ ।
बुधबार सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको भनेर सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो । काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए ।