काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन् ।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आगामी शुक्रवारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिनेगरी तयारी शुरु भएको बताए । उनले एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था बनाउने दाबी गरे ।
उनले आफू्ले यो निर्देशन विभिन्न अध्ययन गरेर सक्ने भएपछि मात्रै दिएको बताए । वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताए ।
‘निर्देशन दिनभुन्दा अघि १४ दिन हामीले काम गरिसकेका छौँ । टायम लगाइदिने, कर्मचारीले नै त्यसलाई ब्लक गरिदिने, कर्मचारीलाई भ्रष्टचार गर्नलाई सजिलो बनाइदिने, काठमाडौं बस्दाखेरी ५ दिन काठमाडौं बस्नुभयो भने ५० हजार लाग्छ म २० हजार दिए बनाइदिन्छु भन्ने । अर्को श्रमीक काठमाडौं बाहिरबाट आएर धेरै दिन काठमाडौं बसेर विदेश जानुपर्दा उहाँहरुलाई झनै दुःख हुन्छ । समयमा श्रम स्वीकृति नदिँदा फ्लाइट टिकट पनि क्यान्सिल गर्नुपर्छ । हामी यसमा संवेदनशील हुनुपर्छ भनेर लागेको हो । एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने बनाउँछु’, उनले भने ।
उनले कर्मचारीहरुले नै समय लगाएर भ्रष्टाचार गर्न सहज बनाइदिने गरेको गुनासो आएपछि आफूले एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको बताए ।