काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रूपमा स्वीकार्न आँट गर्न आग्रह गरेका हुन् ।
यसअघि बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखेका थिए । त्यसको जवाफ दिँदै सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरू हेर्न आग्रह गरे ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई पनि छानविन गर्नुपर्छ : गगन थापा
उनले भने- ‘सत्ताको लागि पानी बिनाको माछाझैँ नतड्पिन म माननीयजीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु । माननीय रवि लामिछानेमाथि भएको जनताको मत, विश्वासको, इज्जत र कदर गरौँ र सोही विश्वासलाई कायम गर्न आएको रूपमा उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रूपमा स्वीकार गर्न आँट गरौँ । किनकि देशमा सुशासन त कायम गर्नैपर्छ । आफू भलो त जगत भलो भनेझैँ अरुलाई औँला देखाउनुभन्दा पहिला आफैँतर्फ फर्किएका औँलाहरू हेर्न सुझाव दिन चाहन्छु ।’
उनले सांसद थापालाई सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन सुझावसमेत दिए ।