
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् । प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गरेका छन् ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले विद्यालयको अवस्थाबारे जानकारी लिए । आजै उनी पोखरामा जारी बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा सरिक हुने छन् ।
भोलि आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा प्रधानमन्त्री सहभागी हुने जनाइएको छ ।
भोलि नै नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गर्ने पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सरिक हुने महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
माओवादी केन्द्रको आन्तरिक प्रशिक्षण तथा भेटघाटमा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको उक्त पार्टीका स्थानीय नेताहरूले बताएका छन् ।