काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरु उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । उनले लामिछाने आफूमाथि प्रश्न बोकेर गृहमन्त्री हुनु नहुने बताए । प्रधानमन्त्रीले पनि प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु नहुने जानकारी दिए ।
सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेका बताए । अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छ भनेर उनले प्रश्न गरे। पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उनको भनाई छ ।
‘अहिलेको गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनु भएको थियो । उहाँ प्रश्न गर्ने पेशाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ । त्यो वचतकर्ताको माग छ, सहकारी सञ्चालकको सम्पतीबाट हाम्रो वचत फिर्ता दिनुपर्छ भन्ने उनीहरुको माग छ । त्यस्तै अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ ? म प्रश्न गर्न चाहन्छु । पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई कसरी समाधान गर्नसक्छ ? पीडितहरुले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ ?’, उनले भने ।
उनले गृहमन्त्रीकै मातहतमा रहेको प्रहरीले सुन प्रकरणमा राजनीतिक मान्छेलाई छानवीनको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्रीमाथि पनि प्रश्न उठाए । उनले प्रश्नै प्रश्नले घेरिएका मान्छेको बिचमा बसेर प्रधानमन्त्रीले सुशासन कायम गर्न नसक्ने बताए ।