काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नुपर्ने बताए । बिहीबार नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
साथै, बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै अर्थमन्त्री पुनले आर्थिक विकासको लागि बैंकिङ क्षेत्रको अहम भूमिका रहने समेत बताए ।
सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरूका विषयमा जानकारी गराए ।
संघका पदाधिकारीहरूले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकडको घटना लगायतको विषयमा अवगत गराउँदै आगामी दिनहरुमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक वृद्धिमा सहयोग गर्न लगायत वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ क्षेत्र सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।