
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तन भएसँगै बालकुमारी घटनाको विषय असान्दर्भिक भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दल प्रतिपक्षमा हुँदा बालकुमारी घटनाका विषयमा पटक–पटक मन्त्रीको राजीनामा र बर्खास्तको माग गरिएको थियो । प्रधानमन्त्री प्रचण्डले सरकार परिवर्तन गरेर जवाफ दिइसकेको बताए ।
‘बालकुमारी घटनाको सम्बन्धमा भनिएको विषय सरकारको पुनर्गठनसँगै एक हदसम्म सम्बोधन भएको छ,’ प्रधानमन्त्रीले भने ।
सदनप्रति आफू उत्तरदायी नभएको भन्ने आरोप सत्य नभएको उनको भनाइ छ । उक्त सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मत लिने क्रममा आफूले संसदमा विशेष सम्बोधन गर्नेसमेत प्रष्ट पारे ।