काठमाडौं । सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा लगभग सहमति भएको बुझिएको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएको बताइएको छ ।
सहमितअनुसार अर्थमन्त्री माओवादीले लिने सहमति भएको छ । माओवादीका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने निर्णय माओवादीले गरिसकेकाे छ ।
यस्तै, सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन् भने रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री बन्ने भएका छन् ।
नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको बताइएको छ ।
शिक्षा मन्त्रीमा रास्वपाकी नेता सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन् ।