नेपाल पूर्णखोपयुक्त हुने अन्तिम चरणमा छ । मधेशका चार र बागमती प्रदेशको एउटा जिल्लालाई खोपयुक्त बनाएपछि नेपाल पूर्णखोपयुक्त हुनेछ । सरकारले दादुरा-रुबेलासँगसँगै देशलाई सबै खोपयुक्त गर्ने लक्ष्य लिएको छ । यसका लागि पाँच वर्षमुनिका खोप लिन छुटेका बालबालिकालाई खोजी-खोजी खोप लगाइरहेको छ । सरकारले फागुन १३ गतेदेखि सञ्चालन गरेको दादुरा–रुबेला खोप अभियानमा २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने भएको छ । यो खोपको आवश्यकता, महत्व र अहिलेसम्मको प्रभावको विषयमा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमसँग विकासन्युजकी इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् ।
बालबालिकालाई खोप किन लगाइन्छ ?
खोप शरीरमा दिइने एक प्रकारको औषधी हो । जसले रोगसँग लड्ने क्षमताको वृद्धी गर्छ । जुन रोगको विरुद्धका खोप दिइन्छ, त्यो रोगबाट हुने बिरामीपना अथवा त्यो रोगबाट हुने मृत्युदर घट्छ । बालबालिकालाई खोप दिँदा उसले आफूले गर्न सक्ने कामको क्षमता विकास गर्छ । यसो हुँदा बालबालिका त्यो रोग लाग्नबाट जोगिने हुन्छ यसका लागि बालबालिकालाई खोप लगाइन्छ ।
बालबालिकालाई कति प्रकारका खोप दिनुपर्छ ?
बच्चा जन्मनेबित्तिकै ६ हप्तामा खोप दिनुपर्छ । त्यसमा विभिन्न प्रकारका रोगविरुद्धका खोपहरू हुन्छन् । शिशु जन्मेपछि १५ महिनाभित्र सात पटक स्वास्थ्य संस्थामा जानुपर्छ । त्यहाँ गएर विभिन्न प्रकारका रोगविरुद्धको निःशुल्क खोप बालबालिकालाई लगाउनु पर्ने हुन्छ ।
कुन खोप कहिले लगाउने ?
बि.सि.जी : यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ ।
डि.पि.टी- हेप/ बि-हिब : यो खोप ६, १० र १४ हप्ताको उमेरमा तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
पोलियो : पोलियोको खोप शिशुलाई यो तीन पटक दिइन्छ । ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ ।
एफआईपीभी : यो खोप दुई पटक दिनुपर्छ । ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । यसले रोटा भाइरसद्वारा हुने पखलाविरुद्ध काम गर्छ ।
पि.सी.भीः यो खोप यो तीन पटक दिइन्छ । ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।
दादुरा-रुबेला : यो खोप दुईपटक लगाइन्छ । शिशु ९ महिना र १५ महिनाको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।
जे.ई : यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।
टी.डी : यो खोप गर्भवती महिलालाई दिइन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ ।
यी सबै खोप नेपाल सरकारले निःशुल्क दिन्छ । यो लगाउन कुनै शुल्क लाग्दैन । यो खोप लगाउन नजिकैको स्वास्थ्य संस्था र खोप केन्द्रमा लिनुपर्छ ।
खोप लगाउँदा हुने फाइदा के हुन ?
कुनै पनि शिशु जन्मिएपछि खोप लगाउनुपर्छ । यो नेपाल सरकारले अनिवार्य गरेको छ । तालिका बमोजिम तोकिएको समयमा तोकिएका सबै खोप पूरा मात्रामा लगाउँदा बालबालिकालाई सरुवा रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ । बालबालिकामा रोग लाग्ने दर, अपांगता हुने दर र मृत्युदरमा समेत कमी आउँछ भने सरुवा रोग लाग्नबाट बचाउन सकिन्छ ।
बालबालिकालाई खोप लगाइसकेपछि कस्तो प्रभावपर्छ ?
बालबालिकालाई खोप लगाइसकेपछि त्यसको असर देखापर्छ । जसमा हल्का ज्वरो आउने, सुई लगाएको ठाउँमा सुन्निने हुन्छ । यो सामान्य अवस्था हो । धेरै ज्वरो आएमा वा सुई लगाएको ठाउँमा संक्रमण भएमा भने नजिकको स्वास्थ्य संस्थामा लग्नुपर्छ । कुनै–कुनै बालबालिकामा मात्र हुन सक्छ । अन्तर्राष्टिय मान्यताप्राप्त र हामीले वर्षौंदेखि लगाउँदै आएको खोप भएकाले यसमा कुनै जोखिम हुँदैन ।
खोप लगाउन छुटेमा के गर्ने ?
तपाईंले कुनै पनि खोप लगाउन पाउनु भएन छुट्यो भने पनि खोप लगाउन सकिने छ । जस्तै ६ हप्तामा १० हप्तामा लगाउनु पर्ने खोप छुट्यो भने ५ हप्तामा लगाउन मिल्ने ७ हप्तामा र १० हप्तामा लगाउन मिल्ने ७ हप्तामा लगाउन मिल्छ । अहिले हामीले सञ्चालन गर्ने खोप अभियानमा ५ वर्षमुनिका कुनै पनि खोप लगाउन छुटेका बालबालिकाको खोजी गरी खोप लगाउने योजना पनि रहेको छ ।
नेपालमा खोप लगाउन बालबालिकाको अवस्था कस्तो छ ?
नेपालमा सन् २०१० देखि पोलियो देखिएको छैन । तथापि यसलाई निवारण भनिसकेको छैन । नवशिशु धनुष्टंकार सन् २००८ देखि हामी निवारणको अवस्थामा छौं । दादुरा रुबेला नियन्त्रण गर्ने लक्ष्य २०१९ मा थियो । तर, सकिएन । सन् २०२३ मा अर्को लक्ष्य राखियो त्यो बेला पनि सकेन अब हामीले २०२६ भित्र दादुरा रुबेलाको नियन्त्रण गरिसक्ने लक्ष्य राखेका छौं । यसलाई निवारण गर्नको लागि १० हजारमा एउटा केसभन्दा कम संक्रमण हुनुपर्छ । एउटा केस नै भएन भने यसलाई उन्मुलन गरेको मान्न सकिन्छ । नेपालले २०३४ सालमा बिफर उन्मुलन गरेका छौँ । नेपालमा कतिपय रोगलाई नियन्त्रण गरेका छौँ भने कतिपयलाई उन्मुलन गरेका छौँ । खोपकै कारण नियन्त्रण र उन्मुलन गर्ने गरेका छौं । नेपालमा खोप उमेर समूहका बालबालिका र गर्भवती महिलाले सबै खोप लगाइसकेको र लगाउने प्रतिबद्धता अनुरुप सबै पालिका, वडालाई पूर्णखोपयुक्त घोषणा पनि गरिरहेका छौं ।
शहरी क्षेत्रमा खोप लगाउनेको संख्यामा किन कमी देखियो ?
पछिल्लो समय गाउँबाट शहर बसाइसराई गर्नेको संख्या बढेको छ । नयाँ ठाउँमा सर्दा बालबालिकालाई लगाउने खोपमा असर परेको पाएका छौं । जस्तै कुनै परिवार वा आमा बालबालिकासहित गाउँबाट काठमाडौं आउनुभयो भने सुरुमा त यहाँ कुन खोप कहाँ लगाउने भन्ने जानकारी नै हुँदैन, जसले गर्दा पनि बालबालिकामा खोपबाट छुटिरहेका हुन्छन् । अर्को, बच्चालाई खोप लगाइसकेपछि दिइने खोपकार्ड समेत हराइसकेको हुन्छ । आफ्नो बालबालिकालाई कुन खोप दिइसकियो र कुन खोप लगाउन बाँकी छ भन्ने कुरा अभिभावकलाई नै थाहा हुँदैन । अहिले सञ्चालन भइरहेको खोप अभियानमा हामी त्यस्ता बालबालिकाको पनि खोजी गर्नेछौं ।
चुनौती के छ ?
पहिले कुनै पनि खोप नलगाएका बालबालिकाको संख्या १ प्रतिशत थियो भने अहिले कुनै पनि खोप नपाएका बालबालिकाको संख्या बढेको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेक्षण २०२२ ले ४ प्रतिशत बालबालिकाले कुनैपनि खोप नपाएको देखाएको छ । सन् २०१६ मा कुनै पनि खोप नपाउने १ प्रतिशत थियो । तर, अहिले बढेर चार प्रतिशत पुगेको छ । सात पटक स्वास्थ्य संस्था गइ लगाउनु पर्ने निःशुल्क खोप पनि २० प्रतिशतले नलगाएको तथ्यांकले देखाएको छ । यस्ता व्यक्ति कहाँ छुटेका छन् भनेर राज्यले सुक्ष्म योजना बनाउन सकेको छैन । बालबालिकाले खोप नलागउँदा खेर जाने अवस्था पनि उत्तिकै रहेको छ ।
खोपको नियन्त्रण र निवारणमा के फरकछ ?
विभिन्न रोगविरुद्ध लगाइने खोपले रोगको संक्रमण कम हुन्छ । नेपालमा कतिपय रोगको निवारण भइसकेको छ भने कतिपय नियन्त्रण गरिएको छ । नियन्त्रण भनेको समाजमा धेरै नफैलनेलाई भनिन्छ भने निवारण भनेको रोग एउटाबाट अर्कोमा सर्न रोकिनुलाई भनिन्छ । अहिले रुबेलालाई नियन्त्रण गर्न सफल भइएको छ भने दादुरालाई नियन्त्रण नै गर्न नसकिएको अवस्था छ ।
दक्षिण एशियामा दादुरा-रुबेला रोगको निवारण गर्नुपर्ने र नेपालले पनि यसमा प्रतिबद्धता जनाएकाले २०२६ मा नेपालले निवारण गरिसक्नु पर्नेछ । सबै ठाउँमा पूर्ण खोप नभएकाले नियमित खोपको पनि सुधार गर्नु पर्ने अवस्था छ । देशका विभिन्न १९ वटा ठाउँमा महामारी पनि देखा पर्याे । सुरुमा बाँकेमा देखा परेको दादुरा तराइका भूभागमा देखियो । विगत १ वर्षको दौरानमा १ हजार ३ सय संक्रमित भेटिएका थिए । दादुरा देखिएको २४ जिल्लामा १५ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाइँदैछ ।