क्यान्सरका बिरामी बढ्दै, जनशक्ति र उपकरणको अभाव कायमै

<p>काठमाडौं । क्यान्सर नसर्ने रोग मध्येको एक हो । यो नसर्ने रोग भएपनि यसको प्रकोप निकै बढिरहेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रोग लाग्छ । तर, पछिल्ला केही वर्षमा यसको अवस्था भयावह रहेको चिकित्सकहरूले बताएका छन् । आइतबार विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै चिकित्सकहरूले क्यान्सर नसर्ने रोग भएपनि अवस्था डरलाग्दो भएकाले मृत्युदर [&hellip;]</p>

काठमाडौं । क्यान्सर नसर्ने रोग मध्येको एक हो । यो नसर्ने रोग भएपनि यसको प्रकोप निकै बढिरहेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रोग लाग्छ । तर, पछिल्ला केही वर्षमा यसको अवस्था भयावह रहेको चिकित्सकहरूले बताएका छन् । आइतबार विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै चिकित्सकहरूले क्यान्सर नसर्ने रोग भएपनि अवस्था डरलाग्दो भएकाले मृत्युदर पनि बढेको बताएका छन् ।

नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको तथ्य सार्वजनीक गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीका अनुसार फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरका कारण धेरैको मृत्यु हुने गरेको छ । सन् २०२० मा क्यान्सरकै कारण नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको उनको भनाइ छ । कार्यक्रममा सहभागी चिकित्सकले खानपान र जीवनशैलीमा ध्यान दिन आग्रह समेत गरे ।

पछिल्लो समय विद्यालयमा पढ्ने बालबालिका समेत चुरोट, खैनीको प्रयोग गर्न थालेको भन्दै चिकित्सकहरूले अबको २५ वर्षपछि नेपालमा क्यान्सर रोगको अवस्था अझै डर लाग्दो हुने बताए ।

जनशक्तीको पनि अभाव

बिरामीको संख्या बढ्दै गए पनि आवश्यक उपकरण र जनशक्तीको अभाव रहेको चिकित्सकहरूले बताएका छन् । क्यान्सरको उपचारका लागि आवश्यक पर्ने उपकरण कतै नहुँदा र कतै हुँदा पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा थन्क्याएर राख्नु पर्ने अवस्था छ । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै चिकित्सकहरूले रेडियो थेरापी टेक्नोलोजिष्ट, सर्जन डाक्टरको समेत अभाव हुँदा समस्या भयावह भएको बताएका हुन् ।

नेपालमा करिब ४८ मात्रै रेडियसन अंकोलोजिष्ट छन् । सर्जिकल अंकोलोजिष्ट ५०, मेडिकल फिजिसिष्ट १८ जना तथा २५ जना रेडियोथेरापी टेक्नोलोजिष्ट छन् भने मेडिकल अंकोलोजिष्टको संख्या २० छ । रेडियोथेरापी टेक्नोलोजिष्टको अभावमा भएका उपकरणहरुको समेत प्रयोग हुन सकेको छैन । कार्यक्रममा बोल्दै वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले यस्तो अवस्थामा क्यान्सरको उपचार सहज भएपनि चुनौतीपूर्ण रहेको बताए ।

नेपालमा हाल काठमाडौँ क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, र भरतपुर क्यान्सर अस्पतालमा मात्र रेडियो थेरापी छ । देशकै सबैभन्दा जेठो अस्पताल वीर अस्पतालमा पनि रेडियो थेरापी टेक्नोलोजिष्ट र रेडियो ग्राफर नहुँदा सेवा प्रभावित रहेको छ । सिभिल अस्पतालमा भनेर रहेको मेसिन पनि चलाउने मान्छे नहुँदा थन्किएको छ ।

९० प्रतिशत बिरामी घरमै

नेपालमा क्यान्सर रोगको प्रकोप र मृत्युदर बढ्दै गए पनि सबै क्यानसर रोगी अस्पताको पहुँचभन्दा बाहिर छन् । देशका सबै भागमा स्वास्थ्यसेवाको पहुँच र आर्थिक अभावका कारण करिब ९० प्रतिशत बिरामी अस्पताल नपुगी घरमै बस्ने गरेका छन् भने १० प्रतिशत बिरामी मात्र अस्पताल पुग्ने गरेका छन् ।

सुदूर पूर्व र सुदूर पश्चिममका नागरिकले पनि उपचारका लागि काठमाडौँ पुग्नुपर्ने बाध्यताले पनि धेरैजसो बिरामी घरमै रोग पालेर बसिरहेका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगिता कौशल मिश्रा यो विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताउँछिन् । जनशक्तीको अभाव भएको स्वीकार्दै उनी यसमा छलफल भइरहेको मीश्राले बताइन् ।

वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डाक्टर विवेक आचार्य क्यान्सर लागेको पहिलो चरण अथवा दोस्रो चरणमै व्यक्ति उपचारको लागि आए सहजै निको हुने भएपनि तेस्रो र चौथो चरणमा पुग्दा मात्र बिरामी अस्पतालमा पुग्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘अवस्था यहाँ नेर डर लाग्दो छ, हामीले क्यान्सर रोगबारे मान्छेलाई सचेत पार्न नसक्नु नै ठूलो गल्ति हो, अब यो विषयमा सबैले सोच्नुपर्छ ।’

Share News