काठमाडौं । सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उनले छिल्लो समय एकै घरका सदस्य सञ्चालक रहेका र अपारदर्शी ढङ्गबाट सञ्चालित सहकारीमा धेरै समस्या देखिएको बताए ।
उनले भने, “पछिल्लो समय पारिवारिक सहकारीका कारण समस्या देखिएको हो, यस्ता सहकारीलाई राज्यले नीति र विधिभित्र ल्याउनुपर्दछ, एउटा सहकारीको समस्यालाई देखाएर सबै सहकारी उस्तै हुन् भन्ने बुझाइलाई अन्त्य गरिनुपर्छ । साधारण सदस्यको पुँजीलाई कसरी सदस्यकै हितमा परिचालन गर्न सकिन्छ भनेर देव दर्शन बचत तथा ऋण सहकारीले नमूना प्रदर्शन गरेको छ । यसबाट अन्य सहकारीले सिक्नुपर्छ ।” पूर्व मन्त्रीसमेत रहेका सांसद श्रेष्ठले अर्थतन्त्रको तीन खम्बामध्येको एक सहकारीलाई प्रवद्र्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
सहकारीका अध्यक्ष रामनारायण घिमिरेले आव २०७९÷८० को वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्तालाई समय समयमा कार्यालयमा आएर संस्थाको वित्तीय जानकारी लिन आग्रह गरे । उनले भने, “उत्पादन क्षेत्रमा लगानी भइरहेका कारण संस्थामा जोखिम आएको छैन, आउन दिँदैनाँै । साधारण सदस्यको पुँजी, सदस्यकै हितमा परिचालन भइराखेको छ ।”
चन्दागिरि नगरपालिकाभित्र १७० वित्तीय संस्था छन् । तीमध्ये देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड अब्बल मानिन्छ । कार्यक्रममा चन्दागिरि–६ का वडाध्यक्ष सञ्जय सिग्देलले भने, “सहकारीले बचत कर्ता, बचतकर्ताले सहकारी नचिनेका कारण सहकारी क्षेत्रमा समस्या देखियो । समस्या हटाउन सामूहिक प्रयासको खाँचो छ । आफूले बचत गरेको सहकारीले कहाँ कसरी लगानी गरिरहेको छ, यसबारेमा बचतकर्ता चनाखो हुनुपर्छ ।”
समाजसेवी देवेन्द्र प्रधानले एकाध सहकारी संस्थाका सञ्चालक समितिको गलत निर्णयको दोष समग्र सहकारीले भोग्न परिरहेको उल्लेख गर्दै सहकारीले बचतकर्ताको चासोलाई समयमै सम्बोधन गरे ।
काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ (कास्कुन)का अध्यक्ष दीपक पनेरुले सहकारीलाई भजाएर राजनीति गर्दा सहकारी क्षेत्र नै बदनाम हुन पुगेको गुनासो गरे । उनले भने, “७५ लाखभन्दा बढी सर्वसाधारण जनता आबद्ध रहेको सहकारी क्षेत्रमा निराशा आउनु दिनुहुँदैन । यस क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गरिनुपर्छ ।”
सोही कार्यक्रममा ‘सर्वोत्कृष्ट कर्मचारी सम्मान’ शिवकुमार थापा मगर र आस्था अर्याललाई ५ हजार रुपैयाँ सहित प्रदान गरिएको थियो । निरा श्रेष्ठ, राजेन्द्र गोपाली, मीनादेवी श्रेष्ठ र रोहितबहादुर बलामीलाई पनि उत्कृष्ट बचत सदस्यका रुपमा सम्मान गरिएको थियो भने गत वर्षको माध्यामिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने आकृति श्रेष्ठ र रोसिस श्रेष्ठलाई ‘देव दर्शन अवार्ड’ प्रदान गरिएको थियो । सो अवार्डको राशि ५ हजार रुपैयाँ छ ।
धेरै सेयर सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० मा पनि मुनाफा आर्जन गरेको छ । विसं २०६६ असार ६ गतेदेखि आफ्नो सेवा थालनी गरेको सो सहकारीमा हाल ३ हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति १ अर्ब १३ करोड २७ लाख रुपैयाँभन्दा माथि पुगेको जनाइएको छ ।
कोभिड सङ्क्रमणको विश्वव्यापी प्रभाव, विश्व बजारमा आएको आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, सहकारी क्षेत्रमा देखिएका विभिन्न समस्या, तरलता र ब्याजदरलगायत कारण आर्थिक क्षेत्रले सन्तोषजनक उपलब्धि हासिल गर्न समस्या भइरहँदा सहकारीले सो आवमा ७८ लाख २० हजार ७० रुपैयाँ मुनाफा कमाउन सफल भएको हो ।
सहकारीले सो आवमा आफ्नो कारोबार १ अर्ब १७ करोड ६५ लाख ७४ हजार ८६८ रुपैयाँ पुर्याएको थियो । आव २०७९÷८० मा सो संस्थाको निक्षेप सङ्कलन १ अर्ब ६ करोड ५६ लाख २२ हजार रुपैयाँ र सेयर पुँजी ४ करोड ७४ लाख ७ हजार रुपैयाँ पुगेको जनाइएको छ । सहकारीको १५ औँ वार्षिक प्रतिवेदनका अनुसार आव २०८०÷८१ सेयर पुँजी ५ करोड रुपैयाँ पुर्याउने, निक्षेप सङ्कलन १ अर्ब २५ करोड रुपैयाँ गर्ने र कर्जा लगानी २० करोड रुपैयाँ गर्ने लक्ष्य लिइएको छ ।
राष्ट्रिय सहकारी बैङ्क, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ, काठमाडौँ जिल्ला सहकारी सङ्घ तथा काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घमा आबद्ध चन्द्रागिरि नगरपालिका–५ स्थित दाउराडिपोमा रहेको सो सहकारीले आफ्नो सेयर सदस्यलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता तथा काजकिरियासमेत प्रदान गर्दै आएको छ ।
सहकारीको अध्यक्ष घिमिरेका अनुसार निक्षेप सङ्कलनतर्फ नियमित, देवदर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देवदर्शन विशेष, कल गोल्डेन, बोनसलगायत बचत सेवा सञ्चालित छन् । यसैगरी, देवदर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, लघु, गरिबी निवारणलगायत कर्जा तथा सापट योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ ।