वार्षिक ३५ लाख पर्यटक भित्र्याएर १० लाखलाई रोजगारी दिन्छाैं-मन्त्री किराती

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा नयाँ पर्यटकीय गन्तव्य र सम्भावनाको खोजी गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्ड २५औँ वार्षिकोत्सव कार्यक्रममा उनले नयाँ ठाउँ पहिचानसँगै नेपालको कला, संस्कृति र सभ्यतालाई पर्यटनसँग जोड्न आवश्यक रहेको बताए । अहिले राम्रो काम गरे भविष्यमा त्यसले नतिजा दिने उल्लेख गर्दै मन्त्री किरातीले [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा नयाँ पर्यटकीय गन्तव्य र सम्भावनाको खोजी गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्ड २५औँ वार्षिकोत्सव कार्यक्रममा उनले नयाँ ठाउँ पहिचानसँगै नेपालको कला, संस्कृति र सभ्यतालाई पर्यटनसँग जोड्न आवश्यक रहेको बताए ।

अहिले राम्रो काम गरे भविष्यमा त्यसले नतिजा दिने उल्लेख गर्दै मन्त्री किरातीले आफू पदमा रहुन्जेल पर्यटन क्षेत्रको विकासका लागि जिम्मेवार भएर काम गर्ने बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पर्यटनका नयाँ गन्तव्य र सम्भावना खोज्न लागिपरेको दाबी पनि उनको छ ।

“गाउँ–गाउँमा नयाँ पर्यटकीय गन्तव्य खोज्नु छ । हाम्रा जात्राको ब्रान्डिङ गर्ने, स्थानीय स्वाद र खानेकुरा, वेशभूषा, स्थानीय रहनसहनको विकास गरेर पर्यटन क्षेत्रसँग जोड्न सक्नुपर्ने आवश्यकता छ, हामीले सम्पदा गाउँ, सांस्कृतिक गाउँको अवधारणा सुरु गरेका छौँ । नेपालीपन झल्कन गरी पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्छ,” उनले भने ।

नेपाल प्राकृतिक स्रोत र संस्कृतिमा धनी भएका कारण यी दुई क्षेत्रको समायोजनसहितको पर्यटन विकास आवश्यक रहेको मन्त्री किरातीले बताए । कोभिड महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र अहिले लयमा फर्किएको र धेरै ठूलो समस्या भोगेर पनि राष्ट्रिय लक्ष्य पूरा भएको उनको भनाइ छ ।

सोही कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटनका बोर्डका अध्यक्ष डा.दीपक काफ्लेले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रको विकासमात्र नभई अन्तरराष्ट्रिय क्षेत्रमा समेत चिनाउने अग्रणी संस्थाको भूमिका खेलेको बताए । अहिले विश्वव्यापीरुपमा दिगो पर्यटनको अवधारणा आएको बताउँदै सचिव काफ्लेले वातावरणमैत्री पर्यटन पूर्वाधार र गतिविधि सञ्चालन गरेर दिगो विकास लक्ष्यलाई समेत सहयोग पुग्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “सन् २०३२ सम्ममा प्रतिवर्ष ३५ लाख पर्यटक भित्र्याउने र त्यस क्षेत्रबाट १० लाख रोजगारी सिर्जना गर्नेगरी सरकारले नीति बनाएको छ । यो लक्ष्य प्राप्त गर्नका लागि पर्यटन क्षेत्रसँग जोखिएका सबै पक्ष र सरोकारवालालाई एकाकार भएर लाग्नुपर्नेछ ।”

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि थप लगानीको आवश्यकता रहेको बताए । नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न पर्यटन प्रवद्र्धनसँगसँगै नयाँ सम्भावनाको खोजीमा लाग्नुपर्ने उनको भनाइ छ ।

“पर्यटकीय क्षेत्र विकास तथा विस्तार गर्ने र नयाँ गन्तव्यको खोजी गर्न यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ । यस क्षेत्रमा नेपालभित्रका सम्भावनालाई पहिचान गरेर हामी मुलुकलाई सबल गति दिन सक्छौँ”, उनले भने । सन् २०२३ को हालसम्म १० लाख १२ हजार पर्यटक नेपाल भित्रिएको सो अवसरमा जानकारी दिइएको थियो ।

पर्यटन बोर्डका संस्थापक अध्यक्ष तथा पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले भिजिट नेपाल १९९८ मनाउँदै गर्दा बोर्डको स्थापना भएको उल्लेख गर्दै असहज अवस्थामा पनि नतिजा देखिनेगरी काम गर्न सक्नुपर्ने उल्लेख गरे । नेपालमा पर्यटन क्षेत्रको सुधारका लागि आँट र हिम्मत गरेर काम गर्न सक्नुपर्ने सुझाव पनि उनले दिए ।

सोही कार्यक्रममा होटल सङ्घ नेपालका पूर्वअध्यक्ष सिर्जना राणाले नेपालको पर्यटन उद्योगलाई विश्व बजारसँग जोड्न सक्नुपर्ने बताइन् । पछिल्लो समय पर्यटकको रुचि र चाहना फरक हुँदै गएको उल्लेख गर्दै राणाले सोही अनुसार नेपालको पूर्वाधार तयार पार्नुपर्ने र सेवासुविधा दिन सक्नुपर्ने बताइन् । पर्यटन क्षेत्रलाई चलायमान बनाएर रोजगारी तथा अर्थोपार्जन सँगसँगै मुलुकको आर्थिक वृद्धिमा सहयोग पु¥याउन सकिने उनको भनाइ छ ।

Share News