पर्यटन बोर्ड निजी क्षेत्र जसरी नै सञ्चालन हुनुपर्छ : पूर्वसीईओ जोशी

<p>काठमाडौं । दुई दशकभन्दा बढी अवधिदेखि नेपालको पर्यटन क्षेत्रमा काम गरिसेकका दीपकराज जोशी अहिले पनि यही क्षेत्रमा कार्यरत छन् । भलै, उनले काम गर्ने संस्था परिवर्तन भए पनि अधिकांश समय उनी पर्यटन विकास, प्रचार प्रसार प्रवर्द्धनमै कुदिरहेका हुन्छन् । राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डमा अधिकृत तहबाट प्रवेश गरेका जोशीले छोटो समयमै संस्थाको नेतृत्व हाँक्ने [&hellip;]</p>

काठमाडौं । दुई दशकभन्दा बढी अवधिदेखि नेपालको पर्यटन क्षेत्रमा काम गरिसेकका दीपकराज जोशी अहिले पनि यही क्षेत्रमा कार्यरत छन् । भलै, उनले काम गर्ने संस्था परिवर्तन भए पनि अधिकांश समय उनी पर्यटन विकास, प्रचार प्रसार प्रवर्द्धनमै कुदिरहेका हुन्छन् । राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डमा अधिकृत तहबाट प्रवेश गरेका जोशीले छोटो समयमै संस्थाको नेतृत्व हाँक्ने मौका पाएका थिए । खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेर काम गरेका जोशी पर्यटन बोर्डमा विवादरहित सीईओका रूपमा चिनिन्छन् । पर्यटन बोर्डले आइतबार स्थापनाको २५ वर्ष पूरा गरेको छ । तर, पछिल्लोपटक बोर्ड विवादित भएको छ । बोर्डले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा पर्याप्त प्रचार प्रसार गर्न नसकेको आरोप निजी क्षेत्रले लगाउँदै आएको छ । जोशी सीईओ हुँदा कसरी काम गरेका थिए ? र, अहिले बाहिर रहँदा पर्यटन बोर्डलाई कसरी हेरिरहेका छन् ? यिनै विषयमा केन्द्रित रहेर जोशीसँग विकासन्युजका लागि ऋतुले गरेको कुराकानी :

पर्यटन बोर्डमा राजनीति किन बढी हुन्छ ?
पछिल्ला दिनमा राजनीतिक आस्थाका आधारमा हुने नियुक्तिका विषयलाई लिएर राजनीति भयो भन्ने गरिएको हो । त्यसरी हेर्दा समग्र राज्यका अन्य निकायमा पनि यस्तो अवस्था देखिइरहेको छ । र, त्यसकै प्रभाव पर्यटन बोर्डमा पनि पुगेको होला । अहिले व्यावसायिक पृष्ठभूमिभन्दा पनि राजनीतिक पृष्ठभूमिबाट नियुक्ति हुने गरेको छ ।

यसको एउटा कारण स्वायत्त संस्था र निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका दिने भनेर स्थापना भएको संस्था हो । त्यसो भएको हुनाले काम गर्नलाई केही सहजता छ, अरूको तुलनामा । अर्को कुरा, पर्यटकको संख्या बढ्दै गएपछि त्यसको स्रोत पनि बढ्दै गयो । राजनीतिर्फबाट जाँदा आफ्नो गाउँ ठाउँमा केही कार्यक्रम गर्न सकिन्छ भन्ने पनि होला । तर, समग्र हिसाबले भन्नुपर्दा अन्य संघसंस्थाको अनुपातमा पर्यटन बोर्डमा कमै राजनीति हुन्छ भन्नुपर्छ ।

तपाईं सानो तहको कर्मचारी खुला प्रतिस्पर्धाबाट एकैपटक सीईओ बन्दा तपाईंभन्दा वरिष्ठ कर्मचारीले असहयोग गरेको देखिएको थियो । नेतृत्वकर्तालाई असहयोग गरेपछि कसरी काम गर्नुभएको थियो ?

स्वभाविकरूपमा हरेक संस्थाहरूमा एकरूपता हुँदैन । नेपालमा के छ भने डिसिजन हुनुभन्दा अघि त्यसको एकदमै मन्थन गर्ने र डिसिजन भइसकेपछि त्यसको इम्लिमेन्टेसनमा समग्र टिम एउटा भएर लाग्नुपर्छ भन्ने मानसिकताको विकास अझै भएको पाइँदैन । त्यो अलिकति ट्रेनिङ, एजुकेशनबाट हुन सक्ला । त्यसको प्रभाव पनि त्यहाँ परेको हो ।

मेरो पालामा त्यहाँ केही पनि थिएन । मैले अभियानका रूपमा मोबिलाइज गर्ने प्रयास गरेँ । र, केही हदसम्म सफल पनि भएको हो । यसो हेर्दा मलाई असहयोग भएको हो भन्ने महशुस गरिनँ । हामीकहाँ हेर्ने हो भने अरू संस्थामा अझै अर्कै स्थिति देखिन्छ । तर, त्यहाँ भूकम्पपछिको पर्यटन एकदमै खस्केको अवस्था थियो । हामी सबैले कर्तव्य ठानेर छिटोभन्दा छिटो पुनरुत्थान गर्नका लागि लाग्नुपर्छ भन्ने हिसाबले अभियानमा जसरी एउटा टिम समाहित हुन्छ, त्यसरी नै बनाउन सकिएकै थियो ।

तपाईं आफैंले चार वर्ष पर्यटन बोर्डको नेतृत्व गर्दा के-के काम गर्नुभयो ?

मेरो कार्यकालमा नेपालमा चाहिँ भूकम्पले तहसनहस बनाएको छ, त्यहाँ पर्यटक जान सक्ने स्थिति छैन भन्ने पर्सेप्सन थियो । त्यसलाई हामीले छोटो समयमा चिर्न सक्यौं । र, तपाईंले हेर्नुहुन्छ भने म बस्दाको चार वर्ष लगालग रिकभरी चाहिँ एकदम फास्ट रिकभरी भो । त्यतिखेर हामीलाई अन्तर्राष्ट्रिय संस्था विश्व पर्यटन संगठन, प्यासिफिक एसिया ट्राभल एसोसिएसनजस्ता संस्थाले छिटो रिकभरी हुने कन्ट्रीमा ‘टप थ्री’ मा राखेर हामीलाई रिकग्नाइज्ड पनि गरेका थिए । यसमा सबैभन्दा महत्त्वपूर्ण छिटो रिकभरी नै हो ।

दोस्रो के छ भने पर्यटन भनेको आइसोलेसनमा हुने होइन । सबैलाई जति धेरै समन्वय र सहकार्य गर्न सकियो त्यति छिटो प्रतिफल ल्याउन सकिन्छ भन्ने उदाहरण हुन सक्यो । निजी र सरकारी दुवै क्षेत्रसँग निकै राम्रो सहकार्य हुन सकेको थियो । अर्को चाहिँ आन्तरिक पर्यटनका लागि पनि हामीले २०७३ लाई घुमफिर वर्ष र आन्तरिक पर्यटनबिना समग्र पर्यटनको जग बलियो हुन सक्दैन भनेर एकदमै वढावा दिने काम पनि तीव्रताका साथ भएको थियो । र, त्यसको जग बस्दै बस्दै गएर अहिले पनि हामीलाई यो कोभिडपछिको क्राइसिसमा आन्तरिक पर्यटनले नै धेरै थेग्न र राहत दिन सक्यो ।

अर्को महत्त्वपूर्ण काम चाहिँ हामीले त्यतिखेर गरेकोमा नेपालमा पर्वतीय गन्तव्य र साहसिक गतिविधि हुने गन्तव्य भन्ने एउटा छवि थियो । त्यसलाई हामीले लाइफ टाइम एक्सपिरियन्स थिममा नयाँ ब्रान्डिङ गरेर वर्षेभरि पर्यटक आउने बनाउन पहल गर्यौं र त्यसले गर्दा हाम्रो राम्रा मौसमहरूलाई सन्देशका हिसाबले पवर्द्धन गर्न सक्यौं र मार्केट स्पेसिफिक जस्तो युरोप, साउथ एशियाका लागि छुट्टाछुट्टै थिममा प्रमोसनहरू गर्यौं ।

यी सबैको समग्ररूपले नै भन्नुपर्छ अहिलेसम्म पूर्वाधारको अवस्था साह्रै कमजोर हुँदाहुँदै पनि १२ लाख पर्यटक हामीले सन् २०१९ मा भित्र्याउन सक्यौं जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । अहिले एउटा हास्यास्पद कुरा के छ भने यो वर्ष हामीले १० लाख राखेका रहेछौं टार्गेट । २० लाख त हामीले २०२० मै राखिएको टार्गेट थियो । त्यो हिसाबले सबैले मिलेर काम गर्दा राम्रो रिजल्ट पक्कै आउँछ भन्ने हो । मेरो कार्यकाल एउटा उदाहरण बन्न सकेको थियो ।

अहिले बाहिर बसेर हेर्दा पर्यटन बोर्डमा काम गर्न नदिने पक्ष के रहेछजस्तो लाग्छ, कर्मचारी, सरकार, राजनीति वा अन्य केही ?

एउटा त समग्र हिसाबले भन्ने हो भने अहिलेको हाम्रो जुन राजनीतिक परिदृष्यमा राजनीतिक नेतृत्व र कर्मचारीको नेतृत्व एकदमै अस्थायी हुने गरेको छ । सचिवहरू, मन्त्रीहरू प्रायः ६/८ महिनामा परिवर्तन भइराख्ने यो एउटा कारण हो । अर्को के छ भने नीतिगत कुरा । पर्यटन बोर्ड भनेको वास्तवमा निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका दिइसकेपछि निजी क्षेत्र जसरी नै सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा आएको संस्था थियो । तर, पछिल्ला दिनहरूमा त्यहाँ पनि प्योरली गर्भमेन्टकै जस्तो सार्वजनिक खरिद ऐनहरू आदि इत्यादिले पनि समस्या पारेको छ ।

तेस्रो सबैभन्दा महत्वपूर्ण समस्या हो सही ठाउँमा सही व्यक्तिको चयन नहुनु । त्यसले गर्दा काम गर्छु भन्ने जतिसुकै जोस, उत्साह र आँट भए पनि अल्टिमेटली रिजल्ट ल्याउन सकिँदैन । किनभने, त्यो सेक्टरको मूल कुरो के हो, चरित्र के हो, कसरी काम हुन्छ, बजार के हो र समस्या समाधान कसरी गरिन्छ भनने आइडिया नहुँदासम्म त्यति राम्रो रिजल्ट ल्याउन सकिँदैन । केही हदसम्म पर्यटन बोर्डमा निजी क्षेत्र एकदमै भित्रैदेखि बुझेको व्यक्ति नेतृत्वदायी भूमिकामा आउँदा त्यसले सहजता ल्याउँछ । त्यो हुन सकेको देखिँदैन ।

अर्को कुरा हामीलाई पूर्वाधारले पनि सपोर्ट गर्न नसकेको हो । पछिल्ला दिनमा पूर्वाधारको क्षमता बढ्दै गएको छ, तर त्यो अझै अपुग छ । त्यो बढ्दै गयो भने अझै हामीले पर्यटनमा चाहिँ धेरै नै सफलता हासिल गर्न सक्छौं ।

पर्यटन बोर्डको २५ वर्षको कामबाट सन्तुष्ट हुने ठाउँ छ ?

पर्यटन बोर्ड वास्तवमा आए पनि एउटा उदाहरणीय संस्थाका हिसाबले आएको छ । कहिलेकाहीँ सही परिणाम पाउन नसक्दा संस्थाको औचित्यमाथि नै प्रश्न गर्नु उचित हुँदैन । त्यस्तो संस्था नेपालमा पर्यटन बोर्डमा मात्रै होइन कि अरू सेक्टरमा पनि चाहिने हो । तर, त्यस्ता संस्थालाई कसरी राम्रो बनाउने, कसरी सपोर्ट गर्ने, कसरी ट्र्याकमा राख्ने भन्ने मेकानिज्महरू अलि धेरै चाहिन्छ होला । पर्यटन बोर्डको समग्र हिसाबले भन्ने हो भने आजका दिनमा पर्यटनमा एकखालको समन्वयकारी भूमिका खेल्ने निकाय नै छैन । त्यो निकाय भनेकै पर्यटन बोर्ड हो ।

मलाई लाग्छ, २२-२५ वर्षमा हामीले हेर्ने हो भने यसमा प्रश्न गर्नेभन्दा पनि यसको इम्प्याक्ट एनालाइसिस गर्ने हो भने काम गरेका धेरै ठाउँ भेटिन्छन् ।

पर्यटन बोर्डले २५ वर्षमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारको कुन स्थानमा पुर्यायो जस्तो लाग्छ ?

खासगरी पर्यटन बोर्डको मुख्य जिम्मेवारी भनेको अन्तर्राष्ट्रियरूपमा प्रवर्द्धन गर्ने नै हो । अहिले हामीले हेर्यौं भने संसारका धेरै ठाउँहरूमा नेपालको एकखालको पर्यटनसम्बन्धी बुझाइ पुगेकै छ । त्यसलाई व्यावसायिक हिसाबले टर्न गर्न अरू टुल्सहरू प्रयोग गर्नुपर्ने हुन्छ । तर, राज्यले ठूलो बजेट दिएर सुरु भएको संस्था होइन यो । त्यहाँ के छ भने त्यहीँ पर्यटकहरूबाटै आयस्रोत हुँदै र त्यसैलाई परिचालन गर्दै आएको हो र पछिल्ला दिनमा स्रोत पनि राम्रै भएको छ । सुरुवाती दिनदेखि अहिलेसम्म हेर्ने हो भने सीमित स्रोतमा एउटा दक्ष जनशक्तिले प्रभावकारी काम गर्न सकेकै मान्नुपर्छ नेपालको परिदृष्यमा ।

नेपालमा पर्टक भित्र्याउन पर्यटन बोर्डको भूमिका हुन्छ कि हुँदैन ?

मान्छेले कसरी हेर्छन् भने खानेपानी संस्थान नभए पनि खानेपानी पाउँदैनन् र ? अब तर्कका लागि तर्क त जे पनि गर्न सकिन्छ । तर, संस्थाहरू किन चाहिन्छन् भने एकखालको स्पेसल मेमोरीका लागि, नियमित कार्यक्रमका लागि र तदर्थवाद नहोस् भन्नका लागि हो । संस्था चाहिँदैनन् भन्ने तर्कसँग म सहमत छैन । संस्थाहरूलाई प्रोफेसनल, दक्ष र चुस्त बनाउनुपर्छ भन्नेतर्फ सजग र चनाखो हुनुपर्छ । संस्था चाहिँदैन भन्नेतर्फ लागियो भने त्यसले गतिलो र दिगो प्रतिफल चाहिँ ल्याउन सक्दैन ।

पर्यटन बोर्डले निजी क्षेत्रलाई उपेक्षा गरेको आरोप लागिरहन्छ । किन यस्तो भइरहन्छ ?

खासगरी यसमा २-३ कारण छन् । पहिलो, पछिल्लो दिनमा निजी क्षेत्रको दायरा पनि निकै बढेको छ । दोस्रो, निजी क्षेत्रको माग, अपेक्षा एकदमै धेरै छ । त्यो हिसाबले पनि मिसम्याच भएको देखिन्छ । तेस्रो भनेको बेलाबेला मेरो पालामा मैले धेरै नै प्रयास गरेँ तर त्यहाँ आउने नेतृत्वले निजी क्षेत्रसँग घनिभूत सम्बन्ध राख्ने अथवा समन्वय गर्ने त्यस्तो बुझाइ बढ्न गएको हो ।

समग्ररूपमा हेर्ने हो भने निजी क्षेत्रकै लागि काम गर्ने उनीहरूकै व्यावसायिक वृद्धिका लागि काम गर्ने भनेरै स्थापित भएको संस्था हो । निजी क्षेत्रबाट पर बसेर पर्यटन बोर्डले काम गर्न सक्दैन र गर्नु पनि हुँदैन ।

तपाईं यसअघिको सीईओ हुँदा खासै विवादमा त आउनुभएन, तर पर्यटन प्रवर्द्धनका काम खासै गर्न सक्नुभएन भन्ने आरोप तपाईंमाथि छ । यसबारे के भन्नुहुन्छ ?

त्यो बेला हामीले त्यति प्रचार गर्न नसकेका हौं । मेरो व्यक्तिगत बानी के छ भने काम गर्ने परिणाम आइहाल्छ भन्ने तर देखाउँदै नहिँड्ने छ । त्यो हिसाबले पनि केही साथीलाई त्यस्ता अनुभव भएको हो । सीमित स्रोतमा बीबीसी, सिएनएन, रोयटर्सजस्ता अन्तर्राष्ट्रिय निकायहरूसँग वर्षभरि क्याम्पेन चलाइरहिन्थ्यो । अहिले पनि त्यस्तो क्याम्पेन चाहिएको छ । तर, विभिन्न कारणले हुन सकेका छैनन् ।

अर्को, ४ सयदेखि ५ सय अन्तर्राष्ट्रिय मिडिया टुर अपरेटरहरूलाई हामीले नेपाल ल्याएर नेपालको प्रचार वर्णन गरेर पठाउँथ्यौं ताकि उहाँहरूले आफ्ना् नेटवर्कमा, मिडियामा यहाँको प्रचार र प्रवर्द्धन गर्नुहुन्थ्यो । त्यसैगरी नेपालमा अन्तर्राष्ट्रियस्तरका मार्टहरू यहाँ गर्नुपर्छ र त्यसले एउटा बलियो गन्तव्यको सन्देश जान्छ भनेर हिमालयन ट्राभल मार्ट, बुद्ध ट्राभल मार्ट, होमस्टे ट्राभल मार्ट र यस्ता नवीनतम कार्यक्रमहरू पनि गर्यौं । नेपालको पर्यटनलाई अफ सिजन भनिन्थ्यो । जस्तो जुन, जुलाई, अगस्ट । त्यतिबेला हामीले प्रमोसन गरेर अफ सिजनमा पनि पर्यटकको संख्या बढाउँदा एकदमै कम एयरलाइन्सले नेपाल कनेक्ट गर्दा, एउटामात्र विमानस्थल हुँदा पनि १२ लाख पर्यटक भित्र्याउन सकिएको हो ।

पर्यटन बोर्डलाई सरकारले स्वायत्त निकायका रूपमा छाडेको छ, तर यसले काम फिटिक्कै गर्दैन भनिन्छ, के हो कुरा ?

स्वायत्तता जति भनिएको छ अहिले कम हुँदै गएको छ । त्यहाँ अर्को मिसम्याच के छ भने सरकारले विश्वास नगरेर पनि होला । स्वायत्त छोड्दा बिग्रिन्छ भन्ने पनि होला । अब त्यहाँ एकखालको विश्वासको वातावरण बन्नुपर्छ । अल्टिमेटली म के भन्छु भने गभर्मेन्ट र बोर्ड दुवै साइडमा जुन लिडरसीप छ त्यो पर्यटन सेक्टरलाई माया गर्ने लिडरसीप चाहिन्छ ।

पर्यटन क्षेत्र भनेको साँच्चिकै महत्वपूर्ण क्षेत्र हो । जसले नेपाललाई दिगो आर्थिक लाभ, रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सक्ने, वैदेशिक मुद्रा आर्जन गराउन सक्ने सेक्टरलाई हामीले दिनुपर्ने जति प्रायोरिटी दिएका छैनौं । त्यो प्रायोरिटी भनेको के हो भने संस्थालाई बलियो बनाउने, संस्थामा राम्रा मान्छेलाई राखिदिने र उनीहरूलाई काम गर्न सहयोग गरिदिने हो । अनि पो बल्ल रिजल्ट आउँछ । र, त्यस्ता मिसम्याच हुँदा कहिलेकाहीँ अपेक्षा गरेअनुसार परिणाम नआएको हुन सक्छ ।

अन्तर्राष्ट्रिय प्रचार प्रसारमा जाँदा पर्यटन बोर्डका कर्मचारी दलबलसहित जान्छन्, करोडौं खर्च गरेर आउँछन्, तर नतिजा शून्य हुनेजस्तै हुन्छ, किन होला ?

यसमा अलिकति गलत भाष्य निर्माण भएको छ । पर्यटन बोर्ड वास्तवमा त्यसकै लागि स्थापित संस्था हो । जहिले पनि पर्यटनमा ३-४ थरीका मार्केटिङका देखिन्छन् । मार्केटिङ, डेस्टिनेसनका इफोर्टहरू हुन्छन् । एउटा के हो भने अन्तर्राष्ट्रिय सेल्स मिसनहरू गर्ने, पर्यटनका मेला, महोत्सव, मार्ट, एक्सपो, एक्जिबिसनमा पार्टिसिपेट गर्ने, नेपाललाई शोकेस गर्ने । त्यतिबेला निजी क्षेत्रका कम्पनीलाई पनि लिएर जाने गर्नुपर्छ । ठूलो संख्यामा जाँदा व्यवस्थापन पनि गर्नुपर्ला । व्यवस्थापनमा ४-५ जना स्टाफ गएर सहजीकरण गर्नुपर्ने हुन्छ । थोरै जाँदा २-३ जनाले पनि पुग्ला ।

आजका दिनमा प्रवर्द्धनको कमीभन्दा पनि पर्यटक कम हुनुमा पूर्वाधारको कमी हो । निरन्तर गर्दै आएको प्रवर्द्धनले एउटा जग बसालिसकेको छ । सप्लाई साइटमा हाम्रो पूर्वाधार बलियो हुनासाथ पर्यटक त बढाउन सकिहालिन्छ ।

अब पर्यटन बोर्डलाई कुन मोडेलमा चलाउँदा पर्यटन प्रवर्द्धधनका काम प्रभावकारी होलान् र पर्यटक लाखौं आउलान् ?

पर्यटन बोर्डलाई एकखालको स्वायत्तता दिनुपर्छ । पछिल्ला दिनमा कर्मचारीको नियुक्ति प्रक्रिया पनि लोकसेवातिर गएको छ । त्यहाँ जाँदा पनि समस्या त भएन । तर, विशिष्टिकृत सेवा, ज्ञान, दक्षता र सीप भएका मान्छेहरू आउने सहजता चाहिँ दिनुपर्छ । जुन खर्च गर्ने विधि छ त्यसमा पनि सहजता ल्याउनुपर्छ । हामीकहाँ निर्माण क्षेत्रदेखि लिएर कार्यक्रम गर्ने क्षेत्रसम्मका लागि एउटै खालको खरिद प्रक्रिया छ । त्यसमा अलिकति छुट्ट्याइदिनुपर्छ । सबैभन्दा महत्वपूर्ण भनेको सही ठाउँमा सही व्यक्तिको पदस्थापन हो । त्यसो हुँदा म्यानेज गर्न सजिलो हुन्छ ।

Share News