
काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।
उक्त घटनाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सरकारी अधिकारीलाई आफ्नो सरकारी निवास बोलाएका थिए।
गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतले घटनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरे ।
ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समिति समेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिए । आफूले समेत घटनाको अध्ययन गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो।