काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानले बालकुमारीमा भएको घटनाको दोष सत्तामा भएका सबैले लिनुपर्ने बताएका छन् । शुक्रबार बालकुमारीको घटनाप्रति दुःख व्यक्त गर्दै उनले सो बताएका हुन् ।
बालकुमारीमा कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गर्न उत्रिएकामध्ये २ जना युवाहरुले आज ज्यान गुमाएका छन् । यसले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको रवि बताउँछन् ।
‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्। आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ,’ लामिछानले सामाजिक सञ्जालमार्फत भनेका छन् ।