काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले फास्ट ट्रयाक निर्माणको गति कछुवा ट्रयाकमा अघि बढेको बताएका छन् । बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद लामिछानेले नेपाली सेनाले प्रस्तुत गरेको रिपोर्ट हेर्दै सो प्रतिकृया दिएका हुन् ।
राज्यले सोचेको सेनाको परिकल्पना र भूमिकाबारे गम्भीर रहेको र ठेक्कापट्टाबारे निर्मम भएर छलफल गर्नुपर्ने बताउँदै उनले भने, ‘अहिले सेनाले पेश गरेको रिपोर्ट हेर्दा फास्ट ट्रयाक होइन चिप्ले किरा ट्रयाक वा कछुवा ट्रयाक भन्नुपर्छ।’
उनले फास्ट ट्रयाक निर्माण गर्दा प्राचीन सहर खोकना मास्न नहुनेमा समेत जोड दिए । सेनाको आफ्नै क्षमता २२ किलोमिटर सडक मात्रै खोल्ने देखिएको बताउँदै उनले बाँकी अरु कम्पनीलाई दिएको पाइएको बताए ।
त्यस्तै, रिपोर्ट अनुसार ट्रान्सफर्मर जडानमा प्राधिकरणलाई १८ करोड तिरेको देखिएको तर महालेखाले यो खर्च सम्बन्धितलाई नै तिराउने भनेको सांसद रविले बताए ।
‘आर्थिक चलखेल गर्न सजिलो हुन्छ भनेर यस्ता ठुला आयोजना सेनालाई नै दिइएको हो ? सेनामा हुने अनियमितता सैनिक ऐनअनुसार हुने रहेछ। तर अख्तियार, सतर्कता केन्द्रले हेर्न नपाउने रहेछ । सेना आफैले भ्रष्टाचार छानबिन गर्ने भएपछि ठुला भ्रष्टाचारको ढाकछोप भएको हो कि ?’ प्रश्न गर्दै उनले भने ।