
काठमाडौं । छात्रवृत्ति करार कोटामा काम गर्ने चिकित्सकहरुले असोज महिनादेखि सेवा सुविधा पाउन सकेका छैनन् । संघीय सरकारले बजेट निकासा नगर्दा छात्रवृत्ति कोटाका चिकित्सकहरुले दुई महिनाको तलब र दशैंभत्ता वापत पाउने सुविधा नपाएका हुन् ।
छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ अनुसार छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययन पूरा गरेका विद्यार्थीहरुले सरकारले खटाएको ठाउँमा काम गर्नुपर्ने व्यवस्था रहेको छ । तीनै छात्रवृत्तिमा अध्ययन पूरा गरेर करारमा खटिएका चिकित्सकहरुको सेवा सुविधाको लागि भने संघीय सरकारले समयमा नै सेवा सुविधा पठाउन सकेको छैन ।
कात्तिक महिनादेखिको सेवा सुविधा नपाएपछि चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष गुनासो पनि गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अहिलेसम्म गण्डकी र बागमती प्रदेशका अस्पतालहरुबाट सामूहिक रुपमा गुनासो समेत आइसकेको छ । तर, समस्याको समाधान गर्नेतर्फ भने मन्त्रालय अगाडि बढेको देखिँदैन ।
संघले आवश्यक बजेट नदिँदा तलब पठाउन नसकिएको प्रदेशको गुनासो
सिन्धुली जिल्ला अस्पतालमा छात्रवृत्ति कोटा अन्तर्गत करार सेवामा कार्यरत १४ जना चिकित्सकहरुले कात्तिक महिनादेखिको तलब सेवा सुविधा नपाएपछि संघीय स्वास्थ्य मन्त्रालयमा नै सेवा सुविधाको लागि सामूहिक निवेदन गरेका छन् ।
त्यस्तै मन्त्रालयमा गण्डकी प्रदेशमा रहेको मातृ शिशु मितेरी अस्पतालबाट पनि छात्रवृत्ति करार कोटामा कार्यरत चिकित्सकहरुले सेवा सुविधा नपाएको भन्दै गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय नीति तथा योजना महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताएका छन् । गुनासो सिमित ठाउँबाट आएपनि असोज महिनापछि सेवासुविधाको लागि भने मन्त्रालयले बजेट प्रदेशहरुलाई पठाएको छैन ।
सिन्धुली जिल्ला अस्पतालका चिकित्सकको सामूहिक निवेदन आएपछि स्वास्थ्य सचिव योजना महाशाखामा तोक लगाइदिए । छात्रवृत्ति करार कोटामा काम गर्ने चिकित्सकहरुलाई सेवा सुविधा पठाउने काम संघीय स्तरको सरकारले गर्दै आएको भएपनि प्रदेश सरकारको कार्यक्षेत्र भएकाले चिकित्सकको सामूहिक निवेदनमा सुनुवाई गर्न संघीय मन्त्रालयले प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएको मन्त्रालय नीति तथा योजना महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले विकासन्युजलाई बताए ।
तर, केन्द्रीय सरकारले आवश्यकता अनुसार पैसा नपठाएको कारणले अस्पतालहरुमा आवश्यक पैसा पठाउन नसकिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालको भनाइ छ । संघीय सरकारले असोज महिनासम्मको लागि पठाएको पैसा अस्पतालहरुमा पठाइसकेको र त्यसपछि पैसा नआएकोले पठाउन नसकिएको उनले बताए ।
‘हामीलाई जति पैसा आएको थियो त्यसबाट पठाएका छौं, बाँकी संघीय सरकारको कमिटमेन्ट छ, स्थानीय स्रोतबाट भएपनि खुवाउँदै गर्नुहोस पैसा आउँछ हामीले दिन्छौं भनेर उहाँहरुलाई भनेका छौं’, उनले भने, ‘पहिला जुन मात्रामा छुट्याएको पैसा हो त्यो सकिएको अवस्था हो ।’
आफूहरुले चिकित्सकहरुलाई सेवा सुविधा दिन संघीय सरकार समक्ष समन्वय गरिरहेको तर, समयमा नै पुग्नेगरी बजेट निकासा नभएको डा. गेलालको भनाइ छ ।
सिन्धुली अस्पतालमा छात्रवृत्ति करार कोटामा कार्यरत चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको सामूहिक पत्र

‘अर्थले रकमान्तरको स्वीकृति नदिँदा थप पैसा पठाउन नसकिएको हो’
छात्रवृत्ति करार कोटामा देशभर कति चिकित्सकहरुले काम गर्छन भन्ने एकीकृत तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छैन । संघीय स्तरको स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति करार कोटामा काम गर्ने चिकित्सकहरुको लागि भनेर पठाएको बजेट पनि कतिपय प्रदेशले रिलिज नगरेको मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकूरले बताएका छन् ।
प्रवक्ता ठाकूरले अनुसार अर्थ मन्त्रालयले रकमान्तर गर्न स्वीकृति नदिएका कारण छात्रवृत्ति करार कोटामा कार्यरत चिकित्सकहरुको लागि प्रदेशमा रकम पठाउन नसकिएको बताए । ‘गृह, रक्षा र सामान्य प्रशासन मन्त्रालय अन्तर्गत चिकित्सकहरुको लागि पुस मसान्तसम्म नै बजेट रकमान्तर नगर्ने भनेर अर्थ मन्त्रालयले भनेको छ, त्यो भएर रोकिएको हो’, उनले भने ।
छात्रवृत्तिमा पढेका कति चिकित्सकहरु करारमा गएका छन् भन्ने तथ्यांक नभएकोले पहिल्यै नै बजेट विनियोजनमा समस्या भएको उनको भनाइ छ । संघीय स्वास्थ्य मन्त्रालयमा एकमुस्ट भएको भिन्दै मन्त्रालयमा विनियोजन गर्न रकमान्तरको आवश्यकता भएको उनले बताए ।