काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ ।
आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा ४२.२४ प्रतिशत र आव. २०७८/०७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९/०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको बताएको छ । आव २०७७/०७८ को तुलनामा (१ लाख ६६ हजार ६९८ जना विदेशिँदा ल्याएको ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स) को अनुपातमा आव२०७९/०८० मा वृद्धि भएको विदेशिनेको संख्या (अहिले ७ लाख ७१ हजार ३२७) जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रुपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ ।
अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भइ कुल ५० खर्ब भन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए ।उनले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बताए ।
‘श्रमिकहरु अझै पनि विदेशिने क्रम बढ्दो छ, असुरक्षित क्षेत्रमा श्रमीकहरु प्रवेश गर्दै गरेको युद्धमा सहभागी भएका जस्ता डरलाग्दा तथ्यांकहरु पनि छन्, असुरक्षित ढंगले श्रमीकहरु विदेशिँदै जाँदा यदी युद्ध भयो भने नेपाली श्रमीकहरु युद्धमा पनि सहभागी हुने हुन् की भन्ने संकेत देखिन्छ, जुन प्रतिशतमा विदेशमा श्रमिकहरुको संख्या बढ्दो छ, तर रेमिट्यान्स बढीरहेको छैन, कतै न कतै यहाँ मिसमास भइरहेको छ भन्ने हामीलाई लागेको छ, यसलाई यस वर्ष हाइलाइट गरिरहेका छौँ’, उनले भने ।
उनले वैदेशिक रोजगारमा गएर श्रमिकहरुले कमाएको नेपालमा आउनुपर्ने रकम नेपालमा किन आएन ? भन्ने प्रश्न गरे ।