
काठमाडौं । दूर सञ्चार सेवा प्रदायक संस्था एनसलेलले ठूला ठूला करदाता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ।
आजियटाले २०७२ साल चैतमा स्वीडिस दूरसञ्चार कम्पनी टेलियासोनेरासँग एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) मा खरिद गरेको थियो । सोही खरिद प्रकृयामा नै एनसेलले सरकारलाई बुझाउनुपर्ने लाभकरको विषयमा ठूला करदाता कार्यालयले दाबी गरेपछि एनसेल सो को विरुद्धमा सर्वोच्च अदालत गएको थियो ।
एनसेलले आफूमाथिको ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण तत्काल रोकिपाउँ भन्दै करिब तीन वर्षअघि सर्वोच्चमा रिट दायर गरेको थियो । एनसेलले कर निर्धारण विरुद्ध लगानी सम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेशनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्यूट (आईसीएसआईडी)मा पनि मुद्दा दायर गरेको थियो । सो मुद्दामा भने एनसेलको दाबीमाथि सुनुवाई गर्दै गत जुनमा खारेज गरिदिसकेको छ ।
एनसेलले दायर गरेको मुद्दा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताकोमा विचाराधीन रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट निवेदन माथिको सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै आएको थियो। अन्तर्राष्ट्रिय मध्यस्थकर्ताबाट विवाद टुंगिइसकेकोले सर्वोच्चले पनि सो मुद्दालाई अब टुंग्याउने अनुमान गरिएको छ ।