काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३’ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको उक्त मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् ।
नवौं संस्करणको सो मेला नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको हो । जुन मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटनको क्रममा सभामुख घिमिरेले स्वदेशी बस्तु निर्यात गर्न तथा विदेशी प्रविधि हस्तान्तरणमा मेलाको महत्वपुर्ण भूमिका खेल्ने बताए । ‘पछिल्लो समय नेपालमा निर्यातभन्दा बढी आयात भइरहेको देखिन्छ, मेलाले आयत गर्न मात्र नभई स्वदेशी बस्तु निर्यात गर्नमा पनि सहयोग पुग्ने अपेक्षा छ, लगानी मैत्री कानुन निर्माणमा मेरो सदैव प्रयत्न रहने छ,’ उनले भने ।
मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहेको छ । महासंघले मेला अवधिभर एक लाखले अवलोकन गर्ने अपेक्षा गरेको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन पनि रहेको महासंघले बताएको छ ।
महासंघका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरू रहने छन् । २१० वटा स्टलहरू मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।
मेलामा १० देखि १२ करोड रुपैयाँसम्मको कारोबार हुने बताइएको छ । आइएमइ पे फोनमा डाउनलोड गर्नेहरूका लागि प्रवेश निःशुल्क छ भने नगरी प्रवेश गर्नेहरूलाई ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।