काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को असोजसम्म डेढ दर्जन लघुवित्त वित्तीय संस्थाहरूले साढे ६६ करोड रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तहरूमध्ये १८ वटा लघुवित्तले ६६ करोड ५८ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको तथ्याङ्कले देखाएको हो ।
गत वर्षको असोज मसान्तसम्म १२ वटा लघुवित्तले १२ करोड ८४ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको थियो । चालु वर्षमा लघुवित्तको संख्यासँगै नोक्सानी रकम पनि बढेको हो । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तले १४ करोड ३० लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको हो । गत वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यस्तै, फरवार्ड लघुवित्तले ११ करोड ९ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सले ६ करोड २५ लाख रुपैयाँ, एनएमबि लघुवित्तले ४ करोड ७३ लाख रुपैयाँ, किसान लघुवित्तले ४ करोड ७३ लाख रुपैयाँ, मिर्मिरे लघुवित्तले ३ करोड ९९ लाख रुपैयाँ, उपकार लघुवित्तले ३ करोड ३७ लाख रुपैयाँ, सामुदायिक लघुवित्तले २ करोड ९४ लाख रुपैयाँ ऋणात्मक छन् ।
यस्तै, अभियान लघुवित्तको २ करोड ८३ लाख रुपैयाँ, आशा लघुवित्तको २ करोड ६४ लाख रुपैयाँ, धौलागिरी लघुवित्तको २ करोड ९ लाख रुपैयाँ, स्वाभिमान लघुवित्तको १ करोड ९८ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको १ करोड ६४ लाख रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तको १ करोड २६ लाख रुपैयाँ, मानुषी लघुवित्तको १ करोड १२ लाख रुपैयाँ, समता घरेलु लघुवित्तको ४७ लाख ९५ हजार रुपैयाँ, विन नेपाल लघुवित्तको १५ लाख ४८ हजार रुपैयाँ र मनकामना स्मार्ट लघुवित्तको १ करोड ४२ लाख रुपैयाँ नाफा ऋणात्मक छ ।
एनएमबि लघुवित्त, किसान लघुवित्त, स्वाभिमान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, विन नेपाल लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले गत वर्ष पनि नोक्सानी बेहोरेका थिए ।
गत वर्ष लक्ष्मी लघुवित्त, सबैको लघुवित्त, गुराँस लघुवित्त, ग्रामीण विकास लघुवित्त, युनिक नेपाल लघुवित्तले नोक्सानी बेहोरेका थिए । तर, यस वर्ष भने लक्ष्मी लघुवित्त ९५ लाख ३२ हजार रुपैयाँ, सबैको लघुवित्त १४ लाख ७७ हजार रुपैयाँ, गुराँस लघुवित्त ९ लाख ३३ हजार रुपैयाँ, ग्रामीण विकास लघुवित्त ३ करोड ४५ लाख रुपैयाँ र युनिक नेपाल लघुवित्त १५ लाख ५३ हजार रुपैयाँ नाफामा छन् ।
