काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघको ११ औं महाधिवेशनमा गत महिना गराइएको निर्वाचनमा व्यापक धाँधली गरिएका स्पष्ट प्रमाणहरु प्राप्त भएको भन्दै उक्त निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन माग गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन लाई सम्बोधन गर्दै संघका अध्यक्ष राजेन्द्र कुमार (आर के) शर्माले गत १९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु पाइएपछि काठमाडौंस्थित सोल्टी होटेलमा २० अक्टोबर २०२३ मा तत्कालिन तीन जना अध्यक्षहरु कुल आचार्य, रबिना थापा तथा बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको दुइ साताभित्र छानबिन गर्ने सहमति भएको बताए ।
‘उक्त सहमतिलाई कागजको खोस्टा बनाइ रातारात सपथ लिने र आफैलाई अध्यक्ष घोषणा गर्ने काम संघको विधान र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको विश्वव्यापी मान्यता प्रतिकूल रहेकाले त्यस्तो कार्य प्रति हाम्रो घोर आपत्ति छ, संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प छैन,’ उनले भने ।
त्यस्तै अध्यक्ष शर्माले निर्वाचनमा गरिएको योजनाबद्ध धाँधली ढाकछोप गर्न अन्तरराष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद रहेको पनि बताए । ‘जसको बारेमा गम्भीर आरोप लागेको छ र जसलाई अध्यक्षको रुपमा स्वीकार गरिएकै छैन, उनकै नामबाट त्यसमा पनि अझ ”नेपाली र गैरआवासीय नेपालीको कुनै पनि किसिमको आबद्धता नरहने” सर्त सहितको छानविन समिति बनाउने भन्ने प्रस्तावलाई हामी सरासर खारेज गर्दछौं,’ उनले भने ।
संघका महासचिव बुद्धि सागर सुवेदीले ११ औं महाधिवेशनका लागि प्रतिनिधि चयनमै योजनाबद्धरुपमा अनियमितता गरिएको बताए । संघको विधान तथा प्रतिनिधि व्यवस्थापन सम्वन्धी निमावली अनुसार ३१ अगष्ट, २०२३ अगावै प्रतिनिधिको नामावली सम्वन्धित एनसिसि अध्यक्ष र महासचिवको हस्ताक्षरसहित केन्द्रमा पठाउनु पर्ने स्पष्ट व्यवस्था गरिएता पनि एनसीसी कोरिया, एनसीसी युएई, एनसीसी अस्ट्रेलिया, एनसीसी माल्टा, एनसीसी युकेका प्रतिनिधिहरूलाई नियतवस अस्वीकार गरी कार्यकारी अध्यक्षको अधिकार दुरुपयोग गरी ३१ अगष्ट, २०२३ पछि आफू अनुकुल पठाउन लगाइएको छ ।
त्यस्तै तत्कालिन कार्यकारी अध्यक्ष बद्री केसीले आफ्नो अधिकारको दुरुपयोग गरी आफू अनुकूल प्रतिनिधि चयन नभएसम्म एनसिसि युएइ, कोरिया, माल्टा, युके, अस्ट्रेलियाका प्रतिनिधिलाई अस्वीकार गर्नुका साथै एनसिसि युएइमा ३२ जना आफ्ना मान्छेलाई प्रतिनिधि बनाएपछि मात्र एनसिसि युएइका प्रतिनिधिहरूलाई स्वीकार गरिएको छ । साथै, विधान र नियमावलीले दिएको मितिभन्दा तीन दिन पछि एनसीसी जर्मनीको कार्यसमिति गठन गरिएको पनि थाहा हुन आएको सुवेदीले भने ।
पत्रकारहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष शर्माले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले गरेको अनुसन्धानको रिपोर्ट आफुहरुले आधिकारिक रुपमा न पाए पनि संचारमाध्यमहरुमा प्रकाशित विवरणहरुका अनुसार निर्वाचन स्वच्छ तरिकाले हुन नसकेको थुप्रै प्रमाणहरु फेला परेको बताए । ‘संसारभरि रहेका लाखौं गैर आवासीय नेपालीहरुको भावनासंग जोडिएको यस्तो महत्वपूर्ण विषयमा सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूह विरुद्ध कडा कारवाही गर्न माग गर्दछौं । त्यस्तै महाधिवेशनको म्यान्डेट नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रुपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गर्ने काम मान्य छैन । त्यस्तो काम तुरुन्त बन्द गर्न पनि हामी माग गर्दछौं,’ उनले भने।
पत्रकार सम्मेलनमा जाजरकोट तथा रुकुम पश्चिम पुगेर अध्यक्ष आर के शर्मा नेतृत्वको टोलीले वितरण गरेको राहतबारे पनि जानकारी गराइएको थियो । यसअघि अध्यक्ष शर्माले आउँदो दुई वर्षभित्र १० करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका थिए ।