काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोष (सासु कोष) मा जम्मा भएको फण्डलाई पूर्वाधारमा लगानी गनुपर्ने बताएका छन् । । छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै हाल कोषमा जम्मा भएको पैसा परिचालन नभएको बताउँदै त्यसलाई ठूलो पूर्वाधार परियोजनाहरूमा लगाउनु पर्ने बताएका हुन् ।
‘बैंकमा राखेर ब्याज खानेभन्दा कार्यविधि बनाएर कोषमा जम्मा भएको फण्डलाई पूर्वाधारमा लगानी गर्नुपर्छ’, उनले भने ।
यस्तै, पछिल्लो समय कोषमा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएकाे र छोटो अवधिमा नै ४५ अर्ब फण्ड संकलन हुनु खुसीकाे विषय भएकाे बताए । आगामी दिनमा सबैभन्दा धेरै फण्ड भएको संस्थाका रूपमा उभिनु पर्ने ढकालकाे भनाइ छ ।
‘वैदेशिक रोजगारीमा जानेहरू गाउँघरमा उच्च ब्याजमा ऋण लिएर विदेश जान्छन्, त्यसका लागि कोषले अनलाइनबाटै सहज रुपमा कर्जा पाउने व्यवस्था हुनुपर्छ,’ ढकालले भने ।
यस्तै, कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश कुमार अग्रवालले कोषमा भएको रकमलाई पूर्वाधारमा लगानी गर्दा अर्थतन्त्र चलायमान हुने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि बैंकमा रकम राखेर ब्याज खानुभन्दा ठूला आयोजनामा लगानी गर्नुपर्ने बताए । छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
हाल सामाजिक सुरक्षा कोषमा २० प्रतिशत योगदान दिनुपर्ने तर नागरिक लगानी कोष र कर्मचारी संचय कोषमा १० प्रतिशत योगदान दिनुपर्ने व्यवस्था छ । यस्तो विभेद हटाउनु पर्ने बताउँदै उनले कोषमा भएको फण्ड वृद्धि भएपछि वैदेशिक लगानी पनि आवश्यक नपर्ने बताए ।