काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय थप अराजक बन्दै गएका छन् । उनले विभिन्न आन्दोलनको नाममा अराजक अभिव्यक्ति र गतिविधि गर्दै थप उच्छ्श्रृङ्खल बन्दै गएका छन् ।
उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ नेतृत्व गर्दै बिहीबार काठमाडौंमा आन्दोलन गरे । उनले शुक्रबार पनि त्यो आन्दोलनलाई निरन्तरता दिने उद्घोष गरे । तर, उनले आन्दोलनका लागि निश्चित ठाउँ तोकेनन् ।
बिहीबार साँझ युटुबर सम्मेलनको आयोजना गर्दै उनले अब आफ्नो आन्दोलन झन आक्रामक बन्ने र नेताहरूलाई जहाँ भेट्यो त्यही ‘धोक्रेठ्याक’ लगाउने अभिव्यक्ति दिएपछि सरकार उनको निगरानीमा लागेको छ ।
शुक्रबार प्रहरीले उनका समर्थकहरूलाई धमाधम पक्राउ गरिरहेको छ । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको बुझिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई उनको निवासमै रोकेको छ ।