घर बनाउने उत्तम समय, निर्माण सामग्रीकाे मूल्य घट्यो, बैंकको ब्याज पनि सस्तो

<p>काठमाडौं । निर्माण सिजन सुरु भएसँगै निर्माण सामग्रीको मूल्य पनि घटेको छ । केही समय अघिसम्म आकासिएको निर्माणजन्य सामग्रीको मूल्य पछिल्लो समय घट्न थालेको हो । व्यवसायीहरू सिजनमै माग कम भएपछि मुल्य घटेको बताउँछन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल ग्राहकबाट निर्माण सामग्रीको माग कम आउन थालेपछि मूल्य पनि घटेको बताउँछन् [&hellip;]</p>

काठमाडौं । निर्माण सिजन सुरु भएसँगै निर्माण सामग्रीको मूल्य पनि घटेको छ । केही समय अघिसम्म आकासिएको निर्माणजन्य सामग्रीको मूल्य पछिल्लो समय घट्न थालेको हो ।

व्यवसायीहरू सिजनमै माग कम भएपछि मुल्य घटेको बताउँछन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल ग्राहकबाट निर्माण सामग्रीको माग कम आउन थालेपछि मूल्य पनि घटेको बताउँछन् । उनका अनुसार डण्डी, स्टिल, जस्तापाता लगायत अधिकांश सामग्रीको मूल्य घटेको छ ।

‘सरकारले पुँजीगत खर्च गर्न सकेको छैन, निर्माण कार्यहरू अगाडि बढ्न सकेको छैन, निर्माण कार्य नहुँदा सामग्रीको माग घट्यो, त्यस कारण मूल्य घटेको हो,’ उनले भने ।

यसअघि प्रतिकिलो १३८ रुपैयाँसम्म रहेको छडको मूल्य अहिले घटेर एक सयदेखि १ सय १० रुपैयाँसम्ममा कारोबार भइरहेको कटुवालले बताए ।

निर्माणको कार्य बढ्दै गयो भने ग्रिल तथा स्टिल मूल्य बढ्न सक्ने पनि उनको भनाइ छ । कटुवालले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटेको बताउँदै नेपालमा पेट्रोलको मूल्य केही मात्रामा घटेकाले पनि डन्डी, सिमेन्टको, ग्रिल लगायत सामग्रीको मूल्य घटेको बताए ।

‘जग्गाको कित्ताकाट खुले पनि कारोबार छैन, घर बनाउनेको संख्या घट्दै गइरहेको छ, यसको प्रभाव पनि निर्माण सामाग्रीमा परेको हो,’ उनले भने ।

निर्माण सामग्रीका व्यवसायी महासंघका उपाध्यक्ष दीपक श्रेष्ठले पनि निर्माण सामग्रीको मूल्य घट्दो क्रममा रहेको बताए । श्रेष्ठका अनुसार डन्डी प्रतिकिलो ९६ देखि १०० रुपैयाँसम्म कारोबार भइरहेको छ । उनले डन्डीमा प्रतिकेजी १०/१५ रुपैयाँ मूल्य घटेको बताए । निर्माण सामग्रीको माग ७७ प्रतिशतले घटेको श्रेष्ठको भनाइ छ ।

यस्तै, दिनेश हार्डवेयरल डन्डीको प्रतिकेजी ११० कारोबार भइरहेको बताएको छ । कम्पनीका अनुसार ग्रिलमा प्रतिकेजी ५/७ रुपैयाँ मूल्य घटेको छ ।

स्टिलसँगै फलामको मूल्य पनि घटेको बताइएको छ । हाल सिमेन्टको होलसेल मूल्य अधिकतम् ४५० रुपैयाँमा कारोबार भइरहेको बुझिएको छ । खुद्रा मूल्य भने ६५० रुपैयाँको हाराहारीमा खरिदबिक्री भइरहेको छ ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले अहिले बोराको ८० रुपैयाँसम्म सिमेन्टको मूल्य घटेको बताए । उनका अनुसार सिमेन्टको पनि माग घट्दा मूल्य पनि घटेको हो । सिमेन्टको उत्पादन धेरै र माग थोरै भएको थापाको भनाइ छ ।

सरकारको पुँजीगत खर्चमा कमि आउँदा र पर्याप्त मात्रामा निर्माणका कामहरू नहुँदा निर्माण सामग्रीको माग/खपतमा कमि आएको थापाको भनाइ छ ।

‘नेपालमा ३ सय अर्बको सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ, ५० करोडको सिमेन्ट निर्यात गरेर उद्योगहरूको घाटा परिपूर्ति हुँदैन, ‘उनले भने, ‘सिमेन्ट कम्पनी पूरै घाटामा चलिरहेका छन्, १०/१५ वटा सिमेन्ट उद्योग बन्द पनि भइसके,’ उनले भने ।

अहिले बैंक तथा वित्तीय संस्थाले पनि सहजरूपमा ऋण लगानी गर्न थालेका छन् भने ब्याज पनि घटाइरहेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाले घर निर्माणका लागि सहजै होम लोन दिइरहेका छन् । निर्माण सामग्रीको मूल्य घटेको बेला र बैंक तथा वित्तीय संस्थाको ऋण पनि सस्तो ब्याजमा पाइरहेको बेला घर निर्माण गर्ने उत्तम समय हुन सक्छ ।

Share News