सिंहदरबारकै कर्मचारी भन्छन्- यो देश कहिल्यै बन्दैन

<p>काठमाडौं । सिंहदरबार देशको प्रमुख शासकीय र प्रशासनिक केन्द्र, अर्थात् राज्य सञ्चालनको केन्द्र हो । सिंहदरबारले अपनाउने सही वा गलत क्रियाकलाप, लिने प्रवृत्ति र दिने सन्देशले पूरै देशलाई प्रभाव पार्छ । सिंहदरबारमा राजनीतिक तहको नेतृत्व छ र सँगै ब्युरोक्रेसी (कर्मचारीतन्त्र) को नेतृत्व पनि छ । खासमा कर्मचारीतन्त्र भनेको स्थायी सरकार हो । हामीले बुझेकै छौं, [&hellip;]</p>

काठमाडौं । सिंहदरबार देशको प्रमुख शासकीय र प्रशासनिक केन्द्र, अर्थात् राज्य सञ्चालनको केन्द्र हो । सिंहदरबारले अपनाउने सही वा गलत क्रियाकलाप, लिने प्रवृत्ति र दिने सन्देशले पूरै देशलाई प्रभाव पार्छ ।

सिंहदरबारमा राजनीतिक तहको नेतृत्व छ र सँगै ब्युरोक्रेसी (कर्मचारीतन्त्र) को नेतृत्व पनि छ । खासमा कर्मचारीतन्त्र भनेको स्थायी सरकार हो । हामीले बुझेकै छौं, देश कस्तो बनाउने भन्ने विषयमा दुवै क्षेत्रको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।

सिंहदरबारमा बन्ने नीति नियमले सिंगो देश अगाडि बढ्छ । जस्तोनीति अघि सार्यो सिंगो राज्य संयन्त्रहले सोही नीतिलाई आत्मसात् गर्दै अघि बढ्छन् । त्यसैले पनि हरेकको नजर सिंहदरबारमा पर्छ ।

‘हेर भाइ, मलाई त सिंहदरबारको हावा पनि भ्रष्ट छ जस्तो लाग्छ,’ धेरैबेरको गफगाफपछि छुट्टिने बेला सिंहदरबारको एउटा मन्त्रालयमा कार्यरत एकजना सहसचिवले पंक्तिकारसँग भने । दुई दशकभन्दा बढी समय सार्वजनिक प्रशासन क्षेत्रमा बिताएका ती सहसचिवको अनुभवमा ‘राम्रो काम गर्न सिंहदरबारमा वातावरण नै छैन ।’ उनले लामो समयदेखि सिंहदरबारमा बसेर हेर्दा धेरै नेता र कर्मचारीहरूले देशमा भविष्य देखेका छैनन् ।

ती सहसचिवसँगको संवादमा उनले काम गर्ने मन्त्रालयअन्तर्गतको कुनै कार्यालयले गरेको नीतिगत भ्रष्टाचारको विषय थाहा भयाे ।  पंक्तिकारका लागि त्यो विषय समाचारको मसला बन्यो । र, मन्त्रालयबाट बाहिरिए ।

त्यसपछि पंक्तिकार नजिकैको अर्को मन्त्रालयको लेखा शाखामा प्रवेश गरे । त्यहाँ दुई उपसचिवहरू सँगै गफिदै थिए । सिंहदरबारमा प्रत्यक्ष सेवाग्राहीको त्यति सम्बन्ध नहुँदा सामान्यतया भीडभाड कम नै हुन्छ । सिंहदरबारको दैनिकी चलाउनुमा मात्रै कर्मचारीलाई सायद काम पुग्दैन । त्यसैले कर्मचारी पनि फुर्सदिला देखिन्छन् ।

लेखा शाखाका दुई उपसचिवहरू पनि फुर्सदमै गफिइरहेका थिए । अचानक पंक्तिकारकाे प्रवेशले उनीहरूको प्रसङ्ग बदलियो, अनि देश र अर्थतन्त्रमा गएर जोडियो ।

‘होइन तपाईं त पत्रकार, देशको अवस्था के छ ? बर्बाद भो नि !’ तीमध्ये एक सहसचिवले भने, ‘अब सरकारले कर्मचारीलाई तलब पनि खुवाउन सक्दैन रे !’

अर्का उपसचिवले चाहिँ देश असफल नै भएको तर्क सुनाए । अब आफूहरूले नै केही समयपछि तलब खान नपाउने उनको भनाइ थियो । ‘अहिले बजेट बनाउँदा आन्तरिक र वाह्य ऋणको किस्ता नै छुटाए रे, अब केही वर्षपछि राज्यको आम्दानीले ऋणको किस्ता बुझाउनसमेत नसक्ने अवस्था सिर्जना हुँदैछ रे !’, लेखाका ती उपसचिवले भने ।

तीमध्ये एक उपसचिवको जागिर अवधि १० वर्षजति र अर्काको पाँच वर्ष जति छ । तर, उनीहरूको भनाइअनुसार उनीहरू आफ्नो जागिरे जीवनबाट खुसी छैनन् भन्ने भाव प्रष्टै बुझिन्थ्यो ।

हुन त खर्चमा हुँदै गएको वृद्धि र नयाँ आवश्यकताहरूले हुनसक्छ, सिंहदरबारका कर्मचारीको पेसाप्रति भन्दा अन्य विषयमा ध्यान केन्द्रित भएको देखिन्छ ।

आम्दानीको दायरा बढाउन कर्मचारीले सेयर बजारमा लगानी गर्ने गरेका हुन्छन् । सरकारको कामका लागि टेबुलमा बसेका कर्मचारीको गफ भने प्रायः सेयर बजारकै विषयमा भएको सुन्न पाइन्छ ।

यतिमात्र होइन, प्रायः को कम्प्युटर वा ल्यापटपमा एउटा ब्राउजरमा स्टक मार्केट खुलिरहेको हुन्छ । यसले पनि कर्मचारीमा थप तनाव बढाइरहेको प्रष्ट संकेत गर्छ ।

अघि कुराकानी भएका सहसचिव ले भनेका थिए, ‘काममा मात्रै ध्यान दिन मिल्ने गरी सरकारले पारिश्रमिकको व्यवस्था गर्नुप¥यो नि, अनि पो नीति बनाउने तहमा भएको मान्छेले अन्यत्र ध्यान दिँदैन ।’

सबै कर्मचारीको सोच खराब नभएको लेखाका उपसचिव …….ले टिप्पणी गरे ।

नक्कली भुटानी प्रकरणदेखि ललिता निवास प्रकरणसम्म उच्च तहसम्मका कर्मचारी जोडिएपछि अचेल सिंहदरबारका कर्मचारीमा पनि निर्णय गर्ने विषयमा डर पैदा भएको उनीहरूको अनुभव छ ।

निजामती कर्मचारीहरू कतिपय समय पुगेर योग्यताले बढुवा हुन्छन् भने कतिपय माथिल्लो तहका लागि प्रतिस्पर्धा गरेर नाम निकाल्ने गर्छन् ।

पंक्तिकार अर्को नजिकैको मन्त्रालयमा प्रशासनतर्फका उपसचिवमा नाम निकालेका ……को कार्यकक्षमा प्रवेश गरे । त्यहाँ पनि फुर्सदिला थुप्रै कर्मचारी गफिइरहेका थिए ।

सामान्यतया जागिरमा प्रवेश गर्दा कामप्रतिको हुटहुटी वातावरणले गर्दा नै परिवर्तन हुने गरेको भर्खरै उपसचिवमा नाम निकालेका ……..ले अनुभव सुनाए ।

‘यहाँ प्रणालीमा रहेर काम गर्ने भन्ने अवस्था नै छैन, जागिरमा प्रवेश गर्दा नयाँ ढंगले काम गरौं भन्ने हुन्छ, जोसजाँगर हुन्छ’, उनले भने, ‘मन्त्रीले भनेको गर्नुप¥यो, सचिवले भनेको गर्नुप¥यो, सिस्टम एकातिर हुन्छ, काम अर्कातिर हुन्छ ।’

कर्मचारीतन्त्रमा नै लामो समय बिताएकाहरूबीच मात्रै गरिने प्रतिस्पर्धाले कर्मचारीको उच्च तहमा नयाँ प्रकारको जनशक्ति आउन नसकेको उनले बताए । उनले अन्य क्षेत्रमा भएका योग्य मानिसलाई पनि उपसचिव र सहसचिवजस्तो पदमा प्रतिस्पर्धा गर्न दिएमात्रै ब्युरोक्रेसीमा नयाँ परिस्थिति पैदा हुन सक्ने बताए ।

सचिव र सहसचिव तहका झन्डै ९० प्रतिशत कर्मचारीका छोराछोरी पढ्ने नाममा विदेश पुगेका छन् । उनीहरूलाई आफ्ना छोराछोरी विदेश पढ्न पठाउँदा ढुक्कको महसुस हुने गर्छ । चियागफमा कहिलेकाहीँ निस्किने कुरामा कर्मचारीले देशमा आफ्ना बालबालिका राख्दा असुरक्षित हुने महसुस गरेको ती उपसचिवले सुनाए ।

‘एक दिन एकजना साथीले आफ्नो छोराको विदेशको भिसा लागेको कुरा सुनाउँदै भन्नुभयो, अब त ढुक्क भयो, अब गरेर खान्छ,’ नवनियुक्त ती उपसचिवले सुनाए ।

सिंहदरबारका कर्मचारीमा किन प्रशासनतन्त्र सुधार गर्ने सोच विकास भएको देखिँदैन, केवल निराशामात्रै किन भेटिन्छ भन्ने सन्दर्भमा ती उपसचिवले भने, ‘सर, मान्छेहरू नै देशमा नरहलान् जस्तो भइसक्यो, सबै नरहेपछि सुधार नै नचाहिएलाजस्तो भइसक्यो ।’

सिंहदरबारमा विद्यमान समस्या अर्थ मन्त्रालयबाट धेरै भएको कर्मचारीहरूको भनाइ सुन्न पाइन्छ । ‘मन्त्रालयहरूमा कतिपय सुधारका निम्ति गर्नुपर्ने काम र नीतिगत व्यवस्थाका लागि अर्थको राय लिनुपर्ने अवस्था छ, उसले सधैं सबै निर्णयमा रोक्ने काम गर्छ, मेरो २५ वर्षको जागिरको अनुभव भनेको समस्या अर्थ मन्त्रालय हो,’ उनी भन्छन् ।

अर्थ मन्त्रालयका कर्मचारीको रवाफिलो जीवनशैलीमाथि धेरै कर्मचारीले टिप्पणी गरेको सुन्न पाइन्छ । त्यस मन्त्रालयका सहसचिवले खुलेरै भने, ‘त्यहाँका सहसचिवले चढ्नेजस्तो गाडी सबै मन्त्रालयका सहसचिवले चढ्न पाउँछन् ? त्यहाँका कर्मचारीले खाने खाजा सबै मन्त्रालयका कर्मचारीले खान पाउँछन् ? देश सुधार गर्ने हो भने अर्थ मन्त्रालयबाट सुरु गर्नुपर्छ ।’

Share News