सेयर बजार र घरजग्गालाई गर्ने व्यवहारले अर्थतन्त्रमा समस्या, ‘गभर्नर पार्टीको गोटी बन्नु हुँदैन’

<p>काठमाडौं । उद्योगी व्यवसायीले सरकारले सेयर बजार र घरजग्गालाई गर्ने व्यवहारले अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य विषय कार्यक्रममा बोल्दै उनले सरकारले र विभिन्न अर्थविज्ञहरुले सेयर बजार र घरजग्गा क्षेत्रलाई अनुत्पादक र लगानी नै गर्न नहुने क्षेत्रका रुपमा चित्रण गर्दा समस्या देखिएको [&hellip;]</p>

काठमाडौं । उद्योगी व्यवसायीले सरकारले सेयर बजार र घरजग्गालाई गर्ने व्यवहारले अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य विषय कार्यक्रममा बोल्दै उनले सरकारले र विभिन्न अर्थविज्ञहरुले सेयर बजार र घरजग्गा क्षेत्रलाई अनुत्पादक र लगानी नै गर्न नहुने क्षेत्रका रुपमा चित्रण गर्दा समस्या देखिएको बताएका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसारभर नै पूँजी परिचालनको माध्यम सेयर बजार भएको तर नेपालमा यसलाई सरकार र अर्थशास्त्रीहरुले पनि फरक ढंगले हेर्ने गरेको बताए । ‘यहाँ निजी क्षेत्र भन्ने वित्तिकै घरजग्गा, सेयर र व्यापार मात्रै लगानी गरेका छन भनेर लेख्ने बोल्ने गर्नु भएको छ, के यी क्षेत्र चाहिँदैनन र ? संसारभर नै पूँजी परिचालनको माध्यम शेयर बजार हो, फेरि अन्यत्र भएको लगानी पनि त हामीले हेर्नुपर्छ,’ उनले भने ।

यस्तै, उनले बैंकरले उद्योगी व्यवसायीलाई दोष दिएर उम्किन नमिल्ने धारणा राखे । कार्यक्रममा उनले कुल ग्राहस्थ उत्पादनको ९० प्रतिशत कर्जा प्रवाह भएपनि आर्थिक वृद्धि किन भएन भन्ने विषय तर्फ ध्यान दिनु पर्ने बताए । उनले यसमा उद्योगी व्यवसायीलाई मात्रै दोष दिन नहुने धारणा राखे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारको आर्थिक नीति र बजेटको तालमेल नमिलेको बताए । उनले सरकारले आयात प्रतिस्थापनको नीति अघि सारेपनि त्यो सफल नभएको र उल्टै आयात बढिरहेको धारणा राखे ।

उनले घरजग्गा क्षेत्रमा अझै सहज नीति अगाडि सार्नु पर्ने धारणा राखे । पर्यटनलाई पनि उद्योगका रुपमा परिभाषित गर्नु पर्ने उनको भनाइ छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले सरकारले लघु घरेलु उद्योगलाई कदर गर्नु पर्ने धारणा राखे । उनले अर्थतन्त्रमा लघु घरेलु उद्योगको योगदान महत्वपूर्ण रहेको बताउँदै यस्ता उद्योगलाई सरकारले कदर गर्नु पर्ने बताए ।

‘उद्योगी पलायन भइरहेको छन्, भएका जनशक्ति पलायन भएपछि विदेशी मान्छे राखेर उद्योग चलाउनु पर्ने बाध्यता छ, यो अवस्था सिर्जना कसरी भयो, सरकारले सोच्नु पर्छ,’ उनले भने ।

गैर आवासिय नेपाल संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नेपालबाट विदेशमा पैसा नपठाउन आग्रह गरेका छन् । ‘एनआरएनएले एक तिहाई अर्थतन्त्र धानिरहेका छन्, वैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा कोष जोडेपछि अर्ब भन्दा बढी रकम चैतसम्म उठेको छ, यसले सहज भएको छ,’ उनले भने ।

यस्तै, उनले नेपाली बैंक तथा वित्तीय संस्थाहरु आर्थिक नितिमा चुकेको धारणा राखे । नेपालीको अर्थतन्त्र सुधारका लागि एनआरएनए सधैं तयार रहेको बताउँदै सरकारले सोही किसिमको सहजत वातावरण सिर्जना गर्नु पर्ने बताए ।

उद्योगमन्त्री भन्छन् : गभर्नर पार्टीको गोटी बन्नु हुँदैन

कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले नेपाल राष्ट्र बैंकको नेतृत्व कुनै पनि राजनीतिक दलको गोटी बन्न नहुने धारणा राखेका छन् । उनले पछिल्लो समय उद्योगी व्यवसायीले बैंकको ब्याज बढेको भन्दै आलोचना गरेपनि नियामकले त्यसतर्फ ध्यान नदिएको धारणा राखेका हुन् ।

उनले अहिलेको अवस्थामा बैंकको ब्याज घट्नु पर्ने भएपनि नघटेको तर्क दिए । ‘बैंकको ब्याजदले पनि उद्योगी व्यवसायीलाई हतोत्साहित गरेको छ, ब्याजलाई घटाउँदै जानु पर्छ, नियामक राजनीतिक पार्टीको गोटी बन्नु हुँदैन, निजी क्षेत्र अगाडि बढ्यो भने मात्र समग्र अर्थतन्त्र अगाडि बढ्छ,’ उनले भने ।

उनले अर्थतन्त्र संकटमा भएको हल्ला भएपनि त्यस्तो अवस्था नभएको धारणा राखे । उनले केही व्यक्तिहरुले अर्थतन्त्र संकटमा भएको भन्दै हल्ला फैलाए पनि अर्थतन्त्र सकारात्मक दिशामा रहेको धारणा राखेका हुन् ।

उनले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको पनि बताए । निजी क्षेत्रमालाई लगानी मैत्री वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै सरकारले उनीहरको लागि सहज नीति नियमहरु बनाउँदै लगेको पनि उनको भनाइ छ ।
यस्तै, उनले मुलुक संकटमा छ भन्ने अभिव्यक्तीले पनि धेरैलाई निराश बनाएको बताए ।

बोल्ड निर्णयको आवश्यकता देखियो : प्रधानमन्त्री प्रचण्ड

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णयको आवश्यकता भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णयको आवश्यकता रहेको धारणा राखेका हुन् ।

उनले अर्थतन्त्र सुधारका लागि एउटा उच्चस्तरीय संयन्त्र नै आवश्यक भएको बताए ।

‘बैंकको ब्याज घटाउन प्रयास गरियो, बजेट र मौद्रिक नीतिबीचको तालमेल मिलाउन निकै लागियो, कित्ताकाट खुलाइयो तर पनि अर्थतन्त्रमा सुधार हुन सकेन, अब एउटा बोल्ड निर्णयको आवश्यकता छ,’ उनले भने ।

उनले अहिले बैंकमा थुप्रेको पैसा बजारमा पठाएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने धारणा पनि राखे ।

Share News