भूकम्प पीडितलाई राहात : घर बनाउन ५० हजारदेखि मृतकको परिवारलाई दुई लाखसम्म

<p>काठमाडौं । सरकारले बझाङका भूकम्पपीडितलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थायी आवास अर्थात घर बनाउन प्रतिघरपरिवारलाई ५० हजार रुपैयाँ राहात स्वरुप दिने घोषणा गरेका हुन् । शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पले क्षति पुर्याएका घरहरूको अवलोकन गर्दै सो घोषणा गरेका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी [&hellip;]</p>

काठमाडौं । सरकारले बझाङका भूकम्पपीडितलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थायी आवास अर्थात घर बनाउन प्रतिघरपरिवारलाई ५० हजार रुपैयाँ राहात स्वरुप दिने घोषणा गरेका हुन् ।

शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पले क्षति पुर्याएका घरहरूको अवलोकन गर्दै सो घोषणा गरेका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायत बझाङ गएका थिए ।

प्रधानमन्त्री दाहालले भूकम्पबाट के-कति क्षति पुगेको छ त्यसबारेमा छिट्टै यकिन गरी पूर्ण क्षति भएका घरपरिवारलाई तत्काल अस्थायी आवास बनाउन ५० हजार रूपैयाँका दरले सहयोग गर्ने बताए । त्यस्तै, प्रभावित अन्य परिवारलाई भने १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मसहित तत्काल त्रिपाल, खाद्यान्न, औषधिलगायत राहत व्यवस्थापन गरिने उनले बताए ।

साथै, प्रधानमन्त्री दाहालले भूकम्पमा परि मृत्यु भएका परिवारलाई प्रतिपरिवार तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् भने भूकम्पमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाइने बताएका छन् ।

र, भूकम्पबाट क्षति पुगेको सरकारी कार्यालयजस्ता भवन तत्काल पुनर्निर्माण गरिने पनि उनले बताए ।

बझाङमा गत असोज १६ गते दिउँसो पटक पटक भूकम्प गएको थियो । जसले गर्दा उक्त जिल्लाका विभिन्न घर तथा भवनमा क्षति पुगेको थियो भने एक जनाको मृत्यु भएको छ ।

Share News