काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन् । उनले चाडपर्व नजिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी नियन्त्रण गर्न माग गरे । उनले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २५० रुपैयाँ पुगेको जानकारी दिए । उनले सरकारले दशैं पेस्कीको रुपमा जनतालाई महँगी दिएको भन्दै कवितामार्फत ब्याङ्ग्य गरे ।
यस्तो छ सांसद पन्तको कविता
खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको २५०
बजार भाउ सुन्दा गुम्छ होस् हवास् ।।
तरकारीले भाउ नै नसोध् झै गर्छ
गोलभेँडाले के किन्लास् र तैले भनेर आँखा तर्छ
दसैं पेस्की आउने कहिले कहिले
पेस्कीमा महँगी आयो
सरकारका घर त उज्यालो होलान्
नहुनेको घरमा अहिले नै अध्यारो छायो
आउन लागेको दसैं सम्झेर
जनता मुर्छा पर्छ !
सरकार गरिबको दसैं कसरी टर्छ ?
मेरो प्रश्न छ सरकार
गरिबको दसैं यसपटक कसरी टर्छ ?
त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दशैँमा गाउँघरमा जाने विद्यार्थीहरुको लागि सरकारी र संस्थानका सवारीहरुको प्रयोग गर्ने गरी प्रवन्ध मिलाउन सरकारसँग माग गरे । उनले सरकारले गत आर्थिक वर्षमा लगाएका ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजना भुक्तानी गर्न आग्रह गरे ।
उनले वर्षातको कारणले बिग्रिएका गाउँ–गाउँमा पुग्ने ग्रामिन क्षेत्रका सडकहरुलाई मर्मतको लागि संघीय सरकारले बजेटको प्रवन्ध मिलाएर प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गर्ने वातावरण मिलाउन माग पनि गरे ।