काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताएका छन् ।सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आयोजना गरेको ‘नागरिक सुनुवाइ-२०८०’ मा शनिवार उनले काठमाडौं, भक्तपुर र ललितपुरलाई सुरक्षित बनाउने अभियानमा प्रहरी लागेको बताएका हुन् ।
‘काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउनका लागि योजना बनाएका छौं,’ उनले भने । उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहेको पनि थापाले जानकारी दिए ।
थपाले काठमाडौंमा हुने आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउँदै उपत्यकाभित्र सिसी क्यामरा जडानका लागि उपत्यकाका विभिन्न पालिकासँग सहकार्य भइरहेको पनि बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताए । ‘समाजमा हुने विकृति, विसङ्गति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भने ।
खत्रीले जनताले अपेक्षा गरेअनुरुपको शान्तिसुरक्षा प्रदान गर्न काठमाडौं प्रहरी तत्पर रहेको पनि बताए ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवी लगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताए ।
उनले चाडपर्वको समयमा हुने चोरी, लुटपाटका घटना कम गर्नका लागि सबै लाग्नुपर्ने बताए । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागिसमेत सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उनको भनाइ छ ।
काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक अमरसिंह शाह लगायतले समाजमा हुने आपराधिक क्रियाकलाप अन्त्यका लागि प्रहरी र स्थानीयवासीबीच सहकार्यको खाँचो रहेको बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पूर्वसचिव, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्व अधिकृत लगायतको सहभागिता थियो । रासस